काठमाडौं । अर्थमन्त्री वर्षमान पुनसँग नेपालका लागि रुसी राजदूत एलेक्सेई नोभिकोभले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बुधबार भएको मन्त्री पुन र राजदूत नोभिकोभबीचको भेटवार्तामा रुसी सेनामा नेपालीको सहभागिता, नेपालमा रुसले लगानी गर्न चाहेका विषयमा छलफल भएको थियो ।
अर्थमन्त्री पुनको सचिवालयले दिएको जानकारी अनुसार भेटवार्तामा आगामी वैशाखमा हुन लागेको लगानी सम्मेलनका विषयमा पनि छलफल भएको थियो । अर्थमन्त्री पुनले ठूला जलविद्युत् आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह गरेका थिए । ‘हामीले विद्युत्का लागि अन्तर्राष्ट्रिय बजारको सुनिश्चितता गरिसकेका छौं । नेपालको जलविद्युत् क्षेत्र अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि उपयुक्त क्षेत्र हो,’ मन्त्री पुनले भेटका क्रममा रुसी राजदूतलाई भनेका थिए, ‘सरकारले स्वदेशमै रासायनिक मल कारखाना खोल्ने नीति लिएको छ । रुस मलको कच्चा पदार्थ उत्पादन गर्ने विश्वकै ठूलो देश हो । मल कारखाना खोल्न इच्छुक हुनुहुन्छ भने वातावरण बनाउन हामी तयार छौं ।’
जवाफमा राजदूत नोभिकोभले मन्त्री पुनको प्रस्ताव सकारात्मक रहेको भन्दै रुसी लगानीकर्तासँग कुरा गर्ने बताएका थिए । भूराजनीतिक कारणले पनि नेपालमा रुसको लगानीका लागि अत्यन्तै सकारात्मक वातावरण रहेको राजदूतको भनाइ थियो । ‘नेपालका दुवै छिमेकी चीन र भारतसँग रुसको राम्रो सम्बन्ध छ,’ राजदूतले भनेका थिए, ‘रुस यस्तो देश हो जसले नेपाल, भारत र चीन तीनवटैलाई खुसी पारेर काम गर्न सक्छ ।’ नेपाल–भारत सीमा क्षेत्रमा दुवै मुलुकलाई लक्षित गरी मल कारखाना खोल्ने वा उत्पादित सामग्री ल्याएर बेच्न सकिने दुवै सम्भावना रहेको राजदूतले बताएका थिए ।
मन्त्री पुनले आगामी वैशाखमा हुने लगानी सम्मेलनमा रुसी लगानीकर्ता आउने वातावरण बनाउन राजदूत नोभिकोभलाई आग्रह गरेका थिए ।
राजदूत नोभिकोभले रुसको उद्योग वाणिज्य संघको नेतृत्वमा लगानी सम्मेलनमार्फत लगानी गर्न सकिने क्षेत्रको पहिचानका लागि बिहीबार एक प्रतिनिधिमण्डल नेपाल आउन लागेको जानकारी मन्त्री पुनलाई दिएका थिए । प्रतिनिधि मण्डलले सरकारी अधिकारी, लगानी बोर्ड र निजी क्षेत्रसँग साक्षात्कार गर्ने कार्यक्रम रहेको पनि उनले जानकारी गराएका थिए ।
भेटका क्रममा मन्त्री पुनले द्विपक्षीय सम्झौताबिना रुसी सेनामा नेपाली युवा भर्ती भएको विषयमा राजदूत नोभिकोभसँग चासो राखेका थिए । पुनले नेपालको परराष्ट्र मन्त्रालयमार्फत त्यसबारे रुसी सरकारलाई जानकारी गराएको पनि बताएका थिए । रुसको सेनामा कार्यरत नेपालीलाई स्वदेश फिर्ता हुने वातावरण बनाउन रादजूत नोभिकोभलाई मन्त्री पुनले आग्रह गरेका थिए ।
त्यस्तै, उनले रुस–युक्रेन युद्धमा मृत्यु भएकाको शव नेपाल ल्याउने वातावरण बनाउन, घाइतेको उपचार तथा मृतक परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न पनि मन्त्री पुनले राजदूतमार्फत रुस सरकारको ध्यानाकर्षण गराएका थिए । ‘रुसी सेनामा आफ्ना नागरिक भर्ती गराउने हाम्रो नीति नभएको विषयमा परराष्ट्र मन्त्रालयले यसअघि नै स्पष्ट गरिसकेकै छ । तर, विभिन्न बाटो भएर गएका नेपाली रुसी सेनामा भर्ती भएका छन्,’ पुनले भनेका थिए, ‘यसमा नेपाल सरकार र आमजनताको गम्भीर चासो र चिन्ता छ । म यहाँमार्फत रुस सरकारलाई रुसी सेनामा कार्यरत नेपालीको घर फिर्तीको वातावरणका लागि आग्रह गर्दछु ।’
जवाफमा राजदूत नोभिकोभले नेपालीलाई सेनामा भर्ती गर्ने कार्यमा नेपाल सरकार दोषी नभएको बताएका थिए । भारत र दुबईको बाटो भएर नेपाली रुस पुगेर त्यहाँको सेनामा भर्ना भएको राजदूतको भनाइ थियो । नेपालीहरूलाई रुसले फिर्ता पठाउन चाहेपनि सबै नेपाली स्वदेश फर्कन इच्छुक नभएको आफूले खबर पाएको राजदूतले दाबी गरेका थिए । उनले अवैध बाटोबाट रुसी सेनामा भर्ती हुन जाने युवालाई नेपालले रोक्नुपर्ने बताएका थिए ।
त्यस्तै, राजदूतले युक्रेनी सेनाले बन्धक बनाएका नेपालीलाई युद्धबन्दी साटासाट गरेर मुक्त गराउने तयारी भइरहेको जानकारी मन्त्री पुनलाई दिएका थिए । ‘हाम्रो सेनाको नियन्त्रणमा रहेका युक्रेनी फौजका सदस्यहरूसँग साटेर भए पनि नेपालीहरूलाई युक्रेनबाट मुक्त गर्ने तयारी छ,’ राजदूत नोभिकोभले भने ।




















प्रतिक्रिया