घटना नम्बर १
मोरङको पथरीशनिश्चरे नगरपालिकामा शौचालय गएकी १५ वर्षीया बालिकाको फागुन २१ गते सोमबार घाँटी रटेको अवस्थामा शव फेला पर्यो। उनको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्यो। मोरङ प्रहरीले ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेनकुमार खाँ चौधरीलाई हत्या आरोपमा पक्राउ गरेको थियो।
सोमबार राति पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित मामाको छोरा (दाजु) को घरमा बस्दै आएकी ज्ञानमति थुलुङ राईको निर्मम तरिकाले हत्या भएको थियो। धारिलो हतियार प्रयोगबाट हत्या गरिएकी ज्ञानमतिको घटनास्थलमै मृत्यु भएको थियो।
हत्यापछि फरार रहेका धीरेनलाई घटना भएको चार घण्टाभित्रै प्रहरीले पक्राउ गरेको हो। प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार ज्ञानमति र धीरेनबीच सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र इमोमार्फत चिनजान भएको थियो।
बाराको जितपुर सिमरा उपमहानगरपालिकामा घर बनाएर आफ्नी आमासँग बस्दै आएका धीरेनले योजनाबद्ध तरिकाले ज्ञानमतिको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। हत्या गर्ने योजनाका साथ धीरेन केही दिनअघि मात्र बाराबाट मोरङ आएका थिए।
प्रहरीका अनुसार धीरेन विवाहित पुरुष हुन्। उनकी एक श्रीमती र १४ वर्षीय छोरासमेत छन्। उनीहरू दुबईमा बस्दै आएको खुलेको छ। उनकी श्रीमती चार वर्षदेखि वैदेशिक रोजगारीमा गएकी छन्।
श्रीमतीसँग राम्रो सम्बन्ध नभएपछि उनी सामाजिक सञ्जालमार्फत किशोरीसँग चिनजान र नजिकिएको अनुसन्धानबाट खुलेको एसपी कार्कीले बताए। डेढ वर्ष यता उनीहरू माया–प्रेममा रहेका थिए। असारमा उनीहरू बिहे गर्ने मनसायका साथ जोगबनी हुँदै भारत जाने तरखरमा रहेका थिए।
तर, मानव बेचबिखनविरुद्ध सक्रिय एक संस्थाले उनीहरूलाई फेला पारी ज्ञानमतिलाई परिवारको जिम्मा लगाइदिएको थियो। ज्ञानमतीको परिवारले आफूसँग विवाह नगरिदिने बुझेपछि धीरेनले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी कार्कीले बताए।
घटना नम्बर २
विराटनगर महानगरपालिका-४ मा हत्या गरिएको अवस्थामा चैत २ गते सोमबार २३ वर्षीया चन्द्रिकाकुमारी दासको शव फेला पर्यो। नोबेल मेडिकल कलेजमा कार्यरत नर्स चन्द्रिका कुमारीको शव उनी बसेकै कोठाको बाथरुममा भेटिएको थियो।
सिराहको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स दास नोबेल मेडिकल कलेजमा कार्यरत थिइन्। उनी विराटनगर-४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा केही महिनाअघि मात्रै डेरा सरेकी थिइन्। दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले काटिएको अवस्थामा शव भेटिएको थियो।
पछि चन्द्रिकाको हत्या उनकै पूर्व प्रेमीले गरेको खुलेको थियो। प्रेममा धोका पाएपछि चन्द्रिकाका पूर्वप्रेमी शिवशङ्कर दासले चन्द्रिकाको हत्या गरी आफूले पनि आत्महत्या गरेका थिए।
चन्द्रिकाको हत्या भएको स्थान भन्दा ३ सय मिटर नजिकै फाइन होटलको कोठा नम्बर १०२ मा शिवशङ्कर दास झुन्डिएको अवस्थामा फेला परेको थियो।
पूर्वप्रेमी मलेसिया गएपछि चन्द्रिका कुमारीको सिराहाकै एक युवासँग प्रेम सम्बन्ध गाँसिएको थियो। चन्द्रिकाको अन्य युवासँग प्रेम सम्बन्ध गाँसिएको थाहा पाएपछि शिवशङ्कर फागुन २७ गते नेपाल आएको खुलेको थियो।
प्रहरीका अनुसार उनी फागुन २७ गते काठमाडौं आएका थिए । उनी फागुन २९ विराटनगर आएको देखिएको प्रहरीले जनाएको छ । विराटनगर आएर उनी चन्द्रिका कुमारीको डेरामा बसेको प्रहरीले जनाएको छ ।
डेरामा बस्दा ‘चन्द्रिकाकुमारीले अर्कैसँग प्रेममा रहेको बताएपछि उनको हत्या भएको प्रहरी अनुसन्धानले देखाएको थियो। उनीहरूको चिनजान पनि फेसबुकबाट नै भएको थियो।
यी दुई वटा त प्रतिनिधि घटनामात्र हुन्। पछिल्लो समय हत्यामात्र नभएर समाजिक सञ्जालको दुरुपयोगले अन्य थुप्रै घटना घट्ने गरेका छन्।
सूचना प्रविधिको युग भएकै कारण सबैको आकर्षण सामाजिक सञ्जालमा छ। २०५० सालमा मर्कन्टाइल कम्युनिकेसनले इन्टरनेट सुरु गरेको हो। नेपालमा ३० सामाजिक सञ्जालको प्रयोग हुन थालेको ३० वर्ष भयो। यो ३० वर्षको अवधिमा प्रविधि द्रूत गतिमा जनतामाझ छायो।
यसको सही सदुपयोग गर्न सके निकै फाइदा छ। संसार सामाजिक सञ्जालकै माध्यमबाट बुझ्न सकिन्छ। तर, नेपालमा यसको दुरुपयोग बढ्दो छ।
सामाजिक सञ्जालमा फेसबुक, टिकटक, इन्ट्राग्राम, ट्विटर र युट्युब पर्दछन्। यी माध्यमहरू इन्टरनेट प्रविधिसँग जोडिएका हुन्। यसलाई आम मानिसहरूले सहज पहुँच र सहभागिता रहने माध्यमका रूपमा लिन्छन्। अहिलेको समयमा धेरै चलनचल्तीमा आएको छ। यसले गर्दा हामी सबैमा सकारात्मक एवम् नकारात्मक असर परेको छ। यसलाई नियन्त्रणमा ल्याउनको लागि सरकार अग्रसर हुन जरुरी छ।
अहिले सामाजिक सञ्जालबाट सबै कुरा थाहा पाउन सकिन्छ। विशिष्ट व्यक्तिदेखि सर्वसाधारणसम्मका मानिसहरूले आफ्ना गतिविधि र कार्यक्रम सञ्जालमार्फत सार्वजनिक गर्दछन्। आजभोली नेताहरूले कुनै जानकारी दिँदा सामाजिक सञ्जालकै प्रयोग गर्ने गरेका छन्।
सामाजिक सञ्जालले देखासिखी जीवनशैली बढाएको छ। सामाजिक सञ्जाल धेरै चलाउने बानीले दिनप्रतिदिन नराम्रो बाटोमा लग्दै छ। सामाजिक सञ्जालले पारिवारिक जीवनमा असर पुर्याउन थालेको छ।
सामाजिक सञ्जालमा चर्चित हुन छाडा प्रविधि देखिन्छ। यसले हाम्रो मौलिक संस्कृति हराउँदै गएको छ। भाइरल हुने होडबाजीमा अर्धनग्न नृत्य गर्ने गरेको देखिन्छ। युट्युब सोसल मिडियाका कन्टेन्ट बनाउनेहरु अनावश्यक रूपमा प्रस्तुत हुन्छन्।
अहिले सञ्जालको प्रयोगले ससाना बालबालिकाहरूलाई युट्युब नदेखाई खाना नखाने, चरित्र हत्या गर्ने काम भइरहेको छ।
सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि यसलाई लिएर विभिन्न प्रतिक्रियाहरू आएपछि सरकारले टिकटकलाई बन्द गरेको छ। टिकटकका प्रतिनिधिहरूसँगको छलफलमा नियमनका लागि आग्रह गर्दा पनि सकारात्मक जवाफ नपाएपछि सरकार बन्दै गर्ने निर्णयमा पुगेको हो ।
सामाजिक सञ्जाल बढी उपयोग भइरहेको छ र यसबाट समाजका गम्भीर चुनौतीहरु उत्पन्न भएका छन्। पछिल्ला दिनहरूमा गलत प्रयोग बढी भएको पाइन्छ। अहिलेका मानिसहरूमा सामाजिक सञ्जालले एक्लोपन, समाजसँग टाढा बस्ने मानसिक समस्या निम्त्याउँछ। अहिले सामाजिक सञ्जाललाई गलत कुराको प्रचार झुटो कुराको प्रवाह अराजकता र आतंकलाई प्रोत्साहनका रूपमा प्रयोग गर्दै आइरहेको छ। सामाजिक सञ्जालले गर्दा मानिसमा आँखाको समस्या मानसिक समस्या साइबर अपराध बढिरहेको छ।
सामाजिक सञ्जालबाट सूचनाको हक आम मानिसहरूले लिने राम्रो हो तर अहिले दुरुपयोग भएको देखिन्छ। यसले अनियमितता र अराजकता बढेको देखिन्छ। सरकारले प्रभावकारी नियमन गर्न नसकेको कारण सामाजिक सञ्जालको दुरुपयोग बढ्दो अवस्थामा रहेको सरोकारवाला बताउँछन्। नियमनलाई प्रभावकारी बनाउनुपर्ने उनीहरूको माग छ।


















प्रतिक्रिया