काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आयरल्यान्ड ‘ए’ लाई दोस्रो टि-२० खेलमा १ सय ९९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९८ रन जोड्यो । नेपालका लागि गुलशन झाले सर्वाधिक ४६ रन जोडेका थिए ।
ओपनर आसिफ शेखले ९ बलमा १ चौका र १ छक्कासहित ११ रन जोडेर आउट भए । अर्का ओपनर कुशल भुर्तेलले १६ बलमा २-२ चौका र छक्कासहित २५ रन जोडे ।
अनिल शाहले ११ बलमा १२ रन जोड्दै ठूलो सट खेल्ने धुनमा टप एज लाग्दै विकेटकिपरको हातबाट समातिए । कप्तान रोहित पौडेल र गुलशन झाले ७१ रनको साझेदारी गरे । गुलशन १४औं ओभरमा आउट हुँदा नेपालले १ सय २९ रन जोडेको थियो । ३२ बलमा १ चौका र ४ छक्का प्रहार गरेका उनले सर्ट कभरमा सहजै क्याच दिए । कप्तान रोहितले २४ बलमा ५ चौकाका साथ ३३ रन बनाए ।
कुशल मल्लले आक्रामक इनिङ खेल्दै १३ बलमा ३४ रन जोड्ने क्रममा १ चौका र ४ छक्का प्रहार गरे ।
विवेक यादवले ८ बलमा विना कुनै बाउन्ड्री नटआउट ७ रन बनाए । सन्दीप जोराले २१ रन जोडे । उनले ९ बलमा ४ चौका र १ छक्का जोडे ।
आयरल्यान्ड ‘ए’ का म्याथ्यु फस्टरले ३ र बेन ह्वाइटले २ विकेट लिए । फिन ह्यान्ड र गेभिन होईले एक/एक विकेट लिए ।




















प्रतिक्रिया