Logo

प्रमुख समाचार

तारन्तर प्रचण्डलाई किन भेट्दैछन् देउवा?



काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समय तारन्तर प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेट बढाएका छन्। गत २१ फागुनमा कांग्रेससँगको समीकरण भत्किएपछि प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीचको दूरी बढेकोमा पछिल्लो समय भने उनीहरूबीच संवाद बढेको छ।

दुई नेताबीच बुधबार र बिहीबार भेटवार्ता भएको हो। प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार भएको भेटमा संक्रमणकालीन न्याय, संघीय संसद्लाई सहज रूपमा सञ्चालन गर्नेलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए।

भेटमा प्रधानमन्त्री प्रचण्डले संसद्लाई प्रभावकारी रूपमा सञ्चालनका लागि देउवासँग आग्रह गरेका थिए। संक्रमणकालीन न्याय, संवैधानिक परिषद्को बैठक, संसद्लाई प्रभावकारी बनाउने विषयमा छलफल भएको आचार्यको भनाइ छ। संसद्को हिउँदे अधिवेशनमा विधेयक प्रस्तुत र पारित गर्नुपर्ने भएकाले प्रतिपक्ष दलका नेतासँग छलफल भएको र प्रधानमन्त्रीले सहयोगको आग्रह गरेको आचार्यले जानकारी दिए।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले टिआरसी विधेयक र संसद् गतिरोध अन्त्य गर्ने विषयमा दुई नेताबीच छलफल भएको बताए। भेटमा मुख्य रूपमा संसद्को गतिरोध अन्त्य कसरी गर्ने भन्ने विषयमा छलफल भएको उनको भनाइ छ।

पछिल्लो समय कांग्रेसले प्रतिनिधि सभामा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरिरहेको छ।

सत्ता समिकरण टुंगिदा कांग्रेस प्रचण्डप्रति सदनमा कडारूपमा प्रस्तुत भएको थियो। उसले प्रचण्डलाई राजनीतिक बेइमानको संज्ञा दिएको थियो। कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासघात गरेको बताएका थिए।

‘गठबन्धनका आधारमा निर्वाचनमा गयौँ। संविधानको रक्षा र मुलुकमा सुशासनको पक्षमा रहेर गठबन्धन गरेका थियौँ। गठबन्धनप्रति कांग्रेस प्रतिबद्ध थियो। प्रचण्डले विश्वासघात गर्नुभयो। प्रचण्डले कथाकथित आरोप लगाउनुभयो। यसलाई हामीले उहाँको राजनीतिक बेइमान ठहर गरेका छौँ,’ उनले भनेका थिए।

यसरी आक्रोसित बनेको कांग्रेसले प्रधानमन्त्रीसँग छलफल चलाउनुलाई रोचकरूपमा हेरिएको छ।

प्रकाशित मिति : चैत्र १६, २०८० शुक्रबार  १२ : ०१ बजे

228
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।