Logo

स्वास्थ्य

दक्ष शिक्षक पाउन कठिन, पठनपाठन गराउन समस्या



यसै शैक्षिक सत्रबाट कक्षा ११ मा अनिवार्य विषयका रूपमा लागू गरिएको सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा पठनपाठन गराउन समस्या भएको गुनासो आउन थालेको छ । नयाँ पाठ्यक्रम लागू गरिए पनि शिक्षकले तालिम पाउन नसकेको, पुस्तक अभाव रहेको तथा सामाजिक अध्ययनमा दक्ष शिक्षकको समेत अभाव हुने स्थिति देखिएपछि गुुनासो बढ्न थालेको छ ।

खासगरी सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाले धेरै विषय समेटेकाले यसको अध्यापन गराउन सक्ने दक्ष शिक्षकको अभाव देखिएको राजधानीको कङ्काली माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु पनेरूले बताउनुभयो । इतिहास, भूगोल र धर्म संस्कृतिमा स्नातकोत्तर तह हासिल गरेको जनशक्तिले मात्र यो विषय राम्ररी पठनपाठन गर्न सक्ने अवस्था देखिएको भन्दै उहाँले शिक्षकलाई माथिल्लो कक्षा लिन लगाउँदैमा समस्या समाधान नहुने बताउनुभयो ।

कक्षा १० मा विज्ञान एउटै शिक्षकले पढाए पनि कक्षा ११ मा फरक फरक विषयगत शिक्षकले पढाए जसरी नै सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षासमेत पढाउनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । तर यसका लागि शिक्षक अभाव देखिएको उहाँ बताउनुहुन्छ । सामाजिक जीवनका विविध पक्ष समेटेर विषयको दायरा निकै उच्च बनाइए पनि त्यसअनुसार शिक्षकको प्रबन्धमा भने ध्यान नदिइएको उहाँको भनाइ छ ।

राजधानीको पद्मोदय माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक नारायण गौतमले सामाजिक अध्ययनको पाठ्यक्रम निकै व्यापक भएको र पुस्तकसमेत नआएका कारण शिक्षकलाई अध्यापनमा समस्या देखिएको बताउनुभयो । कक्षा ११ मा अध्यापनका लागि स्नातकोत्तर शैक्षिक योग्यता चाहिने तर सबै विद्यालयमा त्यस अनुसारको विषयगत शिक्षकको समस्या व्यवस्था गर्न कठिनाइ देखिएको उहाँ बताउनुहुन्छ ।
यसका साथै प्रविधि नजानेको शिक्षकलाई ११ कक्षा पढाउन समस्या हुने अवस्था रहेको उहाँको भनाइ छ ।

सामाजिक विषयका शिक्षक तथा पाठ्यपुस्तक लेखक गोविन्द भण्डारी विश्वविद्यालय तहसम्म जोडिने भएकाले कक्षा ११ र १२ को पाठ्यक्रम केही उच्च स्तरको रहेको तर शिक्षकलाई समयानुुकूूल तालिम नहुँदा अध्यापनमा समस्या भएको बताउनुहुन्छ । याे खबर आजकाे गाेरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार ०८:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।