Logo

अनलाइनपाना खोज

सुन तस्करको आरोप लागेका व्यवसायीले गरे सुन तस्करीविरुद्ध आवाज उठाएका गुप्तालाई कारबाही



सुन तस्करविरुद्ध आवाज उठाउँदै आएका नेपाल रत्न तथा आभूषण संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्तालाई सुन तस्करीविरुद्ध आवाज उठाएको भन्दै संघले नै कारबाही गरेको छ ।

नेपालबाट भारतमा विगत १५ वर्षदेखि सुन तस्करी भइरहेको र पछिल्लो समय सीमित सुन व्यवसायीले सुनमा लागू हुँदै आएको कोटाको दुरूपयोग गर्दै नेपालका सुन व्यवसायीलाई सुन किनेर बेच्न पाउने सामान्य अधिकार समेत कटौती गरी आफैँले फर्जी कम्पनी खडा गरेर आफैँ सुन किनेर भारत तस्कर गरिरहेको भन्दै व्यापक विरोध गर्दै आएका काठमाडौं न्युरोड विशालबजारमा रहेको रिद्धिसिद्धि ज्वेलरी हाउसका सञ्चालक तथा नेपाल रत्न तथा आभूषण संघ काठमाडौंमा वरिष्ठ उपाध्यक्ष गुप्तालाई संघको बिहीबार बसेको बैठकले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको उच्च स्रोतले बतायो ।

सुन तस्करविरुद्ध आवाज उठाउँदै आएँ, तस्करहरूले तस्करी गर्न नपाउने भएपछि मलाई कारबाही गरेर सुन बेच्नबाट रोक लगाउन खोज्दै छन्’, गुप्ताले अनलाइनपानासँग भने,’यो देश तस्करहरूकै लागि रहेछ, आफूले वर्षौँदेखि गर्दै आएको पेसामा पछि आएका साना व्यापारीहरूले समेत व्यापार गरेर खान पाउनुपर्छ, सुनचाँदी व्यवसायी संघसंस्थाहरूका केही व्यवसायीले सुन तस्कर गरिरहेका छन्, रोक्नुपर्छ भनेर आवाज उठाउँदा उल्टै कारबाही गरेछन् गुप्ताले भने ।’

गुप्ताले कोटाको आडमा भारतमा सुन तस्कर भइरहेको विषयमा नेपाल रत्न तथा आभूषण महासंघका निवर्तमान अध्यक्ष सुरेशमान श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष तथा नेपाल रत्न तथा आभूषण संघ काठमाडौंको निवर्तमान अध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल रत्न तथा आभूषण संघ काठमाडौंका अध्यक्ष सुमनमान ताम्राकार, नेपाल रत्न तथा आभूषण संघ काठमाडौंका द्वितीय उपाध्यक्ष निर्मल ज्योति तुलाधर र यिनका सहयोगीहरूलाई सुन तस्करको विषयमा छानबिन गर्न भन्दै प्रहरीमा ठाडो किटानी जाहेरी दिएको लामो समय भइसक्दा समेत छानबिन हुन सकेको छैन भने तस्करीविरुद्ध आवाज उठाउने गुप्तालाई नै ज्यान मार्ने धम्की आएकोले जिल्ला प्रशासन कार्यालयमा शान्तिसुरक्षाको माग गर्दै दिएको निवेदन समेत सरकारी पक्षले गम्भीररूपमा नलिई थन्काएर राखेको पाइएको छ ।

काठमाडौं बाहिरका व्यवसायीको सुन कब्जा गरी कोटा दुरूपयोग गर्दै आएका संघका उपाध्यक्ष निर्मलज्योति तुलाधरको योजनामा आफूलाई संघबाट निकालिएको र राज्यले अनुसन्धान गरी कारबाही गर्नुपर्ने व्यक्तिले सिंगो संघलाई प्रयोग गरेर आफूलाई कारबाही गरेको भन्दै गुप्ताले उनीहरूको निर्णयविरुद्ध कानुनी प्रक्रियामा जाने बताए ।

उनले संसद्मा लगातारको बहसपछि सुन तस्कर र माफियाका विरुद्ध गृह मन्त्रालयले छानबिन गरी अपराधीहरूलाई कारबाही गरिरहेकोले अब तस्कर गर्ने तस्करीहरूको किटानी निवेदन लिएर गृह मन्त्रालय जाने समेत बताए । यस विषयमा प्रतिक्रिया लिन सुमनमान ताम्राकारले फोन उठाएनन् ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार ०८:५७   :  बजे

306
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।