Logo

अर्थ

सुप्रिम सहकारी ठगी : ओमप्रकाश गुरुङलाई थुनामा पठाउन आदेश, ६ जनासँग धरौटी माग



काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले एक जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने ६ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ । अदालतले न्यायाधीश डा दीपक उप्रेतीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले २८ जनाविरुद्ध मुद्दा दायर गरेकामा शुक्रबार थुनछेक बहसका क्रममा ७ जना उपस्थित थिए ।

ओमप्रकाश गुरुङलाई भने थुनामा पठाउन अदालतले आदेश दिएको छ । यस्तै कुमार रम्तेल र भविश्वर अर्याललाई कास्की कारागारबाट झिकाउने आदेश हुँदा जीबीराईसहितका अन्य प्रतिवादीहरुविरुद्ध भने पक्राउ पुर्जी जारी भएको छ ।

इजलासले पूर्वउपराष्ट्रपति दीपेश कुमार पुससँग ४ लाख धरौटी माग गरेको छ । यस्तै नविन अछामीसँग १० लाख, दुर्गा चापागाईं पाण्डेसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापा मगरसँग २ लाख र रोशनी गुरुङसँग पनि २ लाख धरौटी माग गरेको छ । उक्त धरौटी रकम बुझाएपछि उनीहरु रिहा हुनेछन् ।

सुप्रिम सहकारीमा रकम वचत गर्ने १८३१ जनाले आफूहरुको रकम फिर्ता नपाएको भन्दै सहकारीका सञ्चालक र कर्मचारीविरुद्ध जाहेरी दिएका थिए । वचतकर्ताको दाबी अनुसार उक्त सहकारीले करिब एक अर्ब रुपैयाँ अपचलन गरेको छ ।

प्रकाशित मिति : बैशाख ७, २०८१ शुक्रबार  ३ : १३ बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।