Logo

धर्म / संस्कृति

…अनि बालाई कहिल्यै घरमा नल्याउने गरी काँधमा बोकेर गएँ



हामी सबैले भोगेकै कुरा हो, जन्मदै जीवनले मृत्यु बोकेर आउँछ । जीवन दिने अर्थात जन्म दिने विषय त हामीलाई थाहा हुँदै जान्छ । मृत्युको बाटो के चिजले कोरिदिन्छ भन्ने थाहा नहुन सक्छ ।

त्यसैले मानवको जीवनमा जीवन दिने आमाबुबालाई भगवानको रुपमा लिइन्छ । आमालाई पृथ्वीसँग तुलना गरिन्छ । बालाई आकाशसँग । बा र आमाको जिम्मेवारीले पनि जीवन पाएका छोराछोरीमा फरक फरक खालको छाप बस्छ । आमा संसार हुन भने बा हिम्मत र साहसको साथी हुन् भन्ने लाग्छ ।

बा र आमालाई छुट्याएर महिमा र गुनगान सुनाउन त गाह्रो हुन्छ । तर संसारमा आमाका जति महिमा लेखिएका र कोरिएका छन्, बाका त्यति नै महिमा कमै होलान् । बाका पनि आफ्नै सम्बन्धहरु हुन्छन् । अझ बा र छोराका सम्बन्ध हाम्रोजस्तो देशमा चाहेजस्तो बन्दैनन् । प्राकृतिक रुपमै पुरुष र महिला नजिकिने भए पनि नेपाली समाजमा संस्कृतिले बा पछि बा बन्ने छोरालाई बासँग नजिक हुन कमै मौका मिल्छ ।

यस्तो लाग्छ– बासँग नजिक हुन कलिलो उमेर मात्रै काफी हुन्छ । जब जीवन कलिलो हुन्छ, हामी भारेभुरे हुँदा बा जस्तो बलियो, सबै थोक जानेको र राम्रो मान्छे कोही छैनजस्तो लाग्छ ।’ बाले त संसार नै तह लगाइदिनुहुन्छ, सबैलाई जित्नुहुन्छ’ जस्तो लाग्छ । कसैले गाली गर्यो वा कुट्यो भने– ‘पख् न ! म बालाई भन्दिन्छु’ भन्छौं । त्यति मात्रै भन्दा पनि मनमा अभूतपूर्व हिम्मत र भरोसा जागेर आउँछ । त्यसैले भनिएको होला, बालाई हिम्मत र शक्तिको अर्को साहस ।

 

खेतीलाई घृणा गर्नु हुन्न बाबु हो । माटोलाई घृणा गर्ने मान्छेलाई भगवानले भलो मान्दैनन् । तिमीहरू खेती छोडेर ठूलो मान्छे भइँन्छ भन्ने सोच्छौ भने गलत हो । खेतीलाई चटक्क छोड्यौं भने एक दिन धोका पाउँछौ ।

धरती छोडेको हवाईजहाज कतिन्जेल हावामा मात्रै उडिरहन सक्छ ! कि त ढिलो चाँडो धरतीमै बस्न आउनुपर्छ कि त इन्धन सकिएर आकाशमै जल्छ । जसरी चरो चाहारा बटुल्न दिनभरि अनेकतिर जान्छ र रात बस्न आफ्नै गुँडमा फर्कन्छ, त्यसैगरी मान्छे पनि उमेरमा लेखपढ गर्न, जागिर खान, उन्नति–प्रगति गर्न देशविदेश जानुपर्छ तर खेतीपातीलाई चटक्क माया मार्न हुन्न !

पहिल्यैदेखिको उहाँको मान्यता अहिले पनि त्यही छ । हाम्रा बा खेती किसानीलाई ‘पेशा’ होइन ‘धर्म’ भन्ने गर्नुहुन्थ्यो । ‘तिमीहरु जागिर खाएर के गर्छौ, आफ्नो ज्यान पाल्छौ, परिवार पाल्छौ, त्यही होइन ?’, बा प्रश्न गर्नुहुन्थ्यो, ‘तर किसानीले कतिलाई पाल्छ थाहा छ ! चराचुरुङ्गी, मुसा छुचुन्द्रा कीराफट्याङ्ग्रा, जोगी–सन्यासी, राजोदेउतो सबलाई पाल्छ । त्येसैले खेती गर्नु त यज्ञ गर्नुजस्तै हो । योभन्दा ठूलो धर्म के छ ?’

 

म बालापन छोडेर हुर्कदै गएपछि थाहा पाउँछु– हाम्रा बा त साधारण किसान पो रहेछन् । बा, सबैलाई जित्न सक्ने, सबैभन्दा ठूलो त होइन पो रहेछन् । तै पनि बा त बा नै हुन् । बाको कपाल फुल्दै गएपछि लाग्न थाल्छ– बाआमा सम्मानित हुने विद्वान् भएर वा धनी भएर वा राम्रा भएर वा शक्तिशाली भएर होइन रहेछ । बाआमा सिर्फ बाआमा भएका कारण श्रध्देय हुने रहेछन् । किनकी आमाबुबा बिनाको जीवन, राम्रो जीवन हुन कठिन रहेछ ।

दुवै छउन्जेल ‘टुहुरो’ शब्द सबैलाई चरीको प्वाँखजस्तै हलुको लाग्छ । तर यो शब्द कति गरूङ्गो, पीडादायी र गम्भीर रहेछ भन्ने कुरा भोगेपछि थाहा हुन्छ ।

भनिन्छ– आज न भए भोलि सबैको एक दिन आउँछ ! तर आमाबुबा बिनाको संसार अधुरो नै हुन्छ । एउटा सफल छोराछोरी तब मात्र बन्छ, जुन छोराछोरीले आमाबुबालाई साथमा राख्न पाउँछ । पूजा गर्न पाउँछ । साथ दिन पाएको हुन्छ ।

साधारण किसान भए पनि बाका केही असाधारण स्वभाव हुन्छन् । त्यो स्वभाव शहर र गाउँमा फरक हुन्छ । गाउँमा बाको खेतीपातीप्रतिको लगाब र सम्मान अचम्म लाग्ने खालको हुन्छ । यो बच्पनले यतिसम्म स्वीकार्न सिकाएको हुँदैन ।

बा खेतीलाई ‘धरती माता’ भनेर पुकार्नुहुन्छ । उहाँका करिब असी प्रतिशत कुराकानी खेतीपाती, मलबीउ र बस्तुभाउसँग सम्बन्धित हुन्छन् ।

बा हामी छोराछोरीलाई सधैँ भन्नुहुन्थ्यो– “बाबु हो ! हामीले धर्तीलाई हँसायौँ भने धर्ती माताले पनि हामीलाई हँसाउँछिन् । हामीले धर्तीलाई नाङ्गै बनायौँ भने हामी भोकै हुन्छौं ।’’ बा, खेतीपाती खनजोत गर्यो, मलबीउ छर्यो र हराभरा बनायो भने धर्ती माता हाँस्छिन् भन्नुहुन्थ्यो ।
तर हामी छोराछोरीले पढ्दै गएपछि कोदाली छोड्दै गयौं । जागिर खाएपछि त जमिनबाट झन् टाढा भयौं ।

तर बाले जीवनको अन्तिम घडीसम्म धुलिमाटी खेलिरहनुभयो । उमेर चढेसँगै हलोकोदाली कम गर्नुभयो तर खेतीप्रतिको लगाब एक रत्ती घटाउनुभएन । खेतीमा नटेकी उहाँलाई निद्रै नलाग्ने ।

खेतबारीमा टेक्न नपाए घरबाट अलि पर डाँडामा निस्केर आँखामा हत्केलाको ढकनी बनाएर धीत मरुन्जेल खेती हेर्नुहुन्थ्यो । र, उज्यालो मुख लाएर घर आउनुहुन्थ्यो ।

ए बा ! अब त खेती–खेती भन्न छोड्नुस्, हामी बसेको शहरमा लगेर सुख कटाएर पाल्छौ । असी वर्ष उमेर घर्किसक्दा पनि केका लागि खेतबारी धाउनुहुन्छ ! तर उहाँ भन्नुहुन्थ्यो– “म खेतमा खान नपाइएला भनेर माटोको बास्ना सुँघ्न गएको !’

बाका तर्क पनि असाध्यै गम्भीर हुन्थे । खेतीलाई घृणा गर्नु हुन्न बाबु हो । माटोलाई घृणा गर्ने मान्छेलाई भगवानले भलो मान्दैनन् । तिमीहरू खेती छोडेर ठूलो मान्छे भइँन्छ भन्ने सोच्छौ भने गलत हो । खेतीलाई चटक्क छोड्यौं भने एक दिन धोका पाउँछौ ।

धरती छोडेको हवाईजहाज कतिन्जेल हावामा मात्रै उडिरहन सक्छ ! कि त ढिलो चाँडो धरतीमै बस्न आउनुपर्छ कि त इन्धन सकिएर आकाशमै जल्छ । जसरी चरो चाहारा बटुल्न दिनभरि अनेकतिर जान्छ र रात बस्न आफ्नै गुँडमा फर्कन्छ, त्यसैगरी मान्छे पनि उमेरमा लेखपढ गर्न, जागिर खान, उन्नति–प्रगति गर्न देशविदेश जानुपर्छ तर खेतीपातीलाई चटक्क माया मार्न हुन्न !

पहिल्यैदेखिको उहाँको मान्यता अहिले पनि त्यही छ । हाम्रा बा खेती किसानीलाई ‘पेशा’ होइन ‘धर्म’ भन्ने गर्नुहुन्थ्यो । ‘तिमीहरु जागिर खाएर के गर्छौ, आफ्नो ज्यान पाल्छौ, परिवार पाल्छौ, त्यही होइन ?’, बा प्रश्न गर्नुहुन्थ्यो, ‘तर किसानीले कतिलाई पाल्छ थाहा छ ! चराचुरुङ्गी, मुसा छुचुन्द्रा कीराफट्याङ्ग्रा, जोगी–सन्यासी, राजोदेउतो सबलाई पाल्छ । त्येसैले खेती गर्नु त यज्ञ गर्नुजस्तै हो । योभन्दा ठूलो धर्म के छ ?’

मंसिर मासमा चराहरूको बथान लहलह पाकेको धानमा पस्थ्यो र भकाभक खान थाल्थ्यो । हामी छोराछोरी ढुंगामुढा गरेर, टिन ठटाएर चरा धपाउँथ्यौं । तर बा हामीलाई हप्काउँदै आउनुहुन्थ्यो, “ए केटाकेटी हो ! चरालाई ढुंगा नहान त ! तिमीहरु यता आओ ।’ हामी उहाँ भएतिर लुरुक्क जान्थेउँ ।

बाले आफूसँगै बसालेर भन्नुहुन्थ्यो, ‘हेर् ! बाबु हो, तिमीहरूलाई यो धान हामीले मात्रै फलाएको जस्तो लाग्छ होला ! होइन ? तर कुरो त्यसो होइन नि । हामीले धानको बीउ जस्तो रोपेका थियौं, त्यस्तै ठिङ्ग उभिएको भए !, यसमा धानको गेडो नपसेको भए !, हाम्रो के लाग्थ्यो ?

….धानको बीउ पो हामीले रोप्यौं । बालोगेडो लगाइदिएको त भगवानले हो नि ! अनि यसमा हाम्रो मात्रै हक छ त ! भगवानको भाग छैन ?, फेरि भगवानले पाल्नुपर्ने हामी मान्छेलाई मात्रै हो र ? यत्रा जीवजन्तु, चराचुरुङ्गी पनि त पाल्नुपर्यो । तिनीहरूले चाहीँ के खाऊन्, बिचरा ! भगवानले पनि हामी मान्छेले जस्तै आफू मात्रै खाने, आफ्नो परिवार मात्रै पाल्ने गर्न थाले भने सृष्टि कसरी चल्छ ?

……यी चराले कति पो खालान् र ! हद्द खाए दुई–चार मुरी ! त्यति खाएर हामी भोकै त पर्दैनौं नि ! बरु यिनले खाएर हुने नोक्सानी बराबर उब्जनी हुने पाखो बिराऊ ! नयाँ बीउबीजन लगाऊ । अलि राम्रो गोडमेल गरौँ । उब्जनी बढाऔं । अनि त उत्तिको उत्ति नै भैहाल्यो नि ! ल ! चरसरा धपाउन छोडेर घरतिर जाओ ।’, बाले हामीलाई सम्झाएको मलाई अझै याद छ ।

बा खाली हात बसेको मैले कहिल्यै देखिनँ । गफ गरेर बस्दा पनि कि त मकै छोडाइराख्ने !, कि बाबियो वा पाटको डोरी बाटिराख्ने !, कि त कोदला कोदालीको बिँड बनाइराख्ने !’

‘शरीरले नसके बेग्लै हो । नत्र अल्छी गर्नु पाप हो’, बाको मान्यता यही हुन्थ्यो । उहाँले अन्नका गेडालाई र आफ्ना छोराछोरीलाई सायद उत्तिकै माया गर्नुहुन्थ्यो । एक गेडो अन्न वा एक सितो भात फ्याँक्यौं भने हाम्रो सातो खाँदै भन्नुहुन्थ्यो– “अन्न प्राणेश्वर हो, फाल्यो भने पाप लाग्छ । यो एक गेडो अन्न फल्न कति महिना लागेको छ ? कति हलोकोदाली गर्नुपरेको छ ? कति रगत–पसिना चुहाउनुपरेको छ ?, थाहा छ तिमीहरुलाई– भगवानले के भन्छन् ?

बा यति धेरै परिश्रम गर्नुहुन्थ्यो कि भनिसाध्य छैन । चार बीस उमेर खाइसक्दा पनि उहाँको खटाइ सोह्रवर्षेको भन्दा कम थिएन । उहाँसँग हिंड्न, काम गर्न जो पायो उसैले सक्दैनथ्यो। सायद तेही भएर होला, जीवनको अन्तिम घडीसम्म पनि उहाँ तगडा नै हुनुहुन्थ्यो ।
कहिलेकाहीं त बाले हामीलाई भन्दा अरूलाई नै बढी माया गर्नुहुन्छ कि जस्तो सोच्थेँ । घरमा कोही दाजुभाई वा इष्टमित्र आयो भने पाकेको खाना पहिला उनीहरूलाई खुवाउने, दूध दही जे छ उनीहरूलाई दिने ! कहिलेकहीँ त हामीलाई रहँदै नरहने गरी दिने । आफूलाई फेरि पकाउनुपर्ने ।

तर बा हामीलाई सम्झाउँदै भन्नुहुन्थ्यो– “आफ्ना त आफ्ना भैहालेउ नि ! यत्रो श्रीसम्पत्ति तिमीहरूकै त हो नि ! पाहुना भनेका बेलामौकामा आउने हुन् । दिएर, ख्वाएर कहिल्यै सकिन्न बाबु हो ।’

जीवन त हो ! समयले बिस्तारै थकाउँदै जान्छ । बा पनि बुढो हुनुहुन्छ भन्ने मनमा सोच आउँछ तर बा अन्तिम घडीमा अएर गम्भीर रोगले थलिनु भो । केही दिन त ओछ्यानमै पर्नुभो । उहाँलाई भेट्न थुप्रै शुभचिन्तकहरू आउनुभयो । बोल्न पनि मुस्किल पर्ने त्यस क्षणमा उहाँले बोल्ने सिर्फ एउटै कुरा थियो– “खान खायौ ? फलफूल, चिया, खाना खाएर जाओ है ! खाली मुख कोही नजाओ है !

अहिले पनि दाजुभाई इस्टमित्रहरू बाका तिनै शब्दहरू सम्झेर भक्कानो पार्नुहुन्छ । बाका धर्तीमा रहने दिनहरू अन्तिम अन्तिम हुँदै थिए । मलार्ई बाको साथमा बस्न नपाएको जस्तो हुन्थ्यो । तिनै अन्तिम दिनमा म बाको ओछ्यानको छेउमा बसेँ । बाले मेरो हात च्याप्प समाउनुभयो । एकछिन थरथर ओठ कमाउनुभयो । केही बोल्न खोजेजस्तो गर्नुभयो र मुस्किलले भन्नुभयो– ‘मलाई लिन हिजै आएका थिए । तर म हिजो गइँन । तँलाई कुरेर बसेको । तेरो मुख देखिहालेँ– अब म जान्छु है ।’

त्यसो भनेर बाले लामो सास तान्नुभयो र निर्धक्क खुट्टा तन्काउनुभयो । अनि मस्त निद्रामा परेजस्तो देखिनुभयो । आफूले मागेजस्तै खेलौना पाएपछि बालकको अनुहार जसरी खुशीले चम्कन्छ, त्यसैगरी बा आनन्दमा लीन भएजस्तो देखिनुभयो ।

बा मलाई काँधमा बोकेर हिँड्नुहुन्थ्यो– खेतीपाती, बिहेबारी, गाउँघर, मामाघर जहाँ जाँदा पनि । अनि कसैले नसोधे पनि हँसिलो अनुहार पारेर भन्नुहुन्थ्यो– “यो मेरो छोरो ! चार–चार ओटी छोरीपछि बुढेसकालमा जन्मेको । अलि पुलपुलिएको छ । हिँडनै मान्दैन ।

तर वास्तविकता अर्कै थियो । म हिँड्छु बा ! भन्दा पनि उहाँ मलाई हिँड्नै दिनुहुन्नथ्यो । आइज–आइज ! म बोक्छु । तँ हिँड्न सक्दैनस् । धोद्रो–धोद्रो बोली पारेर उहाँ मलाई हकार्नुहुन्थ्यो । अनि बाँसजत्तिकै अग्लो आफ्नो काँधमा जुरुक्क उचाल्नुहुन्थ्यो ।

तपाईंलाई गाह्रो भो के बा ! म काँधबाटै चिच्च्याउँथे । उहाँ भन्नुहुन्थ्यो– ‘तँलाई पनि गाह्रो हुने दिन आउँछ, धेरै नकरा ।’

तैँले पनि यसैगरी बोक्नुपर्छ । म अचम्म मानेर सोच्थेँ– ‘यत्रा बालाई म भुराले कसरी बोक्ने होला ! बा पनि के भन्छन् के !’

तर आज बालाई काँध हाल्ने दिन आयो । फरक यत्ति थियो– बाले मलाई काँधमा हालेर जहाँ लागे पनि घरमै लिएर आउनुहुन्थ्यो । बरु आफैँ लड्नुहुन्थ्यो तर मलाई काँधबाट खस्न दिनुहुन्नथ्यो ।

जब मैले बालाई बोक्ने दिन आयो । फेरि कहिल्यै घरमा नल्याउने बाचा गरी मैले बालाई काँधमा बोकेर लगेँ ।

प्रकाशित मिति : बैशाख ३१, २०८१ सोमबार  ५ : ४१ बजे

354
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।