सामान्यतया मानसिक समस्या भनेको तनाव चिन्ताले निम्त्याउने रोग हो । तनाव भन्ने बित्तिकै तपाईँहरु सोच्नुहोला, आजभोलि कसलाई हुँदैन तनाव ?
सबै मानिसहरुलाई केही न केही समस्या भइ नै रहन्छ । तनाव सामान्य अवस्था हो भन्ने तपाईँहरु सोच्नु हुन्छ भने तपाईँले गलत सोच्नु भएको छ । तनाव मानसिक समस्या निम्त्याउने एक कारक तत्व हो । जब तनावको स्तर मानिसहरुमा बढ्दै जान्छ, जसले गर्दा उनीहरुको दैनिकीमा नै असर पर्न जान्छ । त्यसले मानसिक समस्याको रुप लिन्छ ।
तपाईँहरू सोच्नु होला कि बच्चाहरुमा पनि मानसिक समस्या हुन्छ होला त ? अथवा मानसिक समस्या कुनै घटना वा जन्म जात हुन्छ होलां नि !
कुरा यति मात्रैे होइन । बच्चा जन्मजात मानसिक रोग लिएर जमिनु र कुनै घटना भए पछि उसको मानसिक सन्तुलन गुम्नुमा अभिभावक, समाज तथा साथीभाइककै भूमिका हुन्छ । वास्तवमा मानसिक समस्या यी दुई कारणले मात्रै हुँदैनन् । मानसिक समस्या बच्चा जन्मदा, स्वस्थ नै जन्मे पनि पछि गएर उसको पालन पोषणमा लापरबाही गर्यो भने पनि निम्तन सक्छ ।
बच्चामाथि ठूलै घटना घटेर मात्रै मानसिक समस्या हुने होइन । कहिले काहीँ हामीलाई सामान्य लाग्ने कुराहरु बच्चालाई असामान्य लाग्न सक्छ । त्यसैकारण पनि उनीहरुलाई मानसिक समस्या हुन सक्छ । यी र यस्तै मानसिक समस्याको बारेमा आजको विषयवस्तु केन्द्रित छ ।
मानसिक समस्या जैविक, मनोवैज्ञानिक र सामाजिक कारणहरुले गर्दा हुने गर्दछ । मानसिक समस्या जुनसुकै उमेर समूहकालाई पनि हुन सक्छ । बालबालिकामा देखिने मानसिक समस्या बालबिकासको क्रमसँगै फरक–फरक देखिन्छन् । बालबालिकाको विकासको क्रममा बौद्धिक अपांगता, अटिजम र एडिएचडी जस्ता समस्या देखिन्छन् ।
एडिएचडी अर्थात् एटेन्सन डिफिसेट हाइपर एक्टिभिटी डिसअर्डर । यो समस्या बालबालिकाको विकासको क्रमसँगै देखिने समस्या हो । अटिजम एउटा स्नायु विकास सम्बन्धी समस्या समस्या हो, जुन बालबालिकाको विकास क्रममा देखिने हुन्छ ।
अटिजम भएका बालबालिकामा सामाजिक सञ्चार र सामाजिक अन्तक्रियामा समस्या हुनुका साथै व्यवहार एकोहोरो हुन्छ । जसमा बालबालिकाले कुनै पनि कुरामा ध्यान दिन नसक्ने, अत्यधिक चकचकेपना र सोच्दै नसोची निर्णय लिनेजस्ता लक्षण देखिन्छन् ।
त्यसैगरी बच्चाहरु बढ्दै जाँदा चिन्ताजनक रोगहरु देखिने हुन्छ, जसमा तनाव अत्याधिक लिने, उदास हुने, एक्ले बस्ने, डराउने, आत्तिनेजस्ता समस्याहरु कुनै रोगसँग सम्बन्धित भएर देखिने हुन्छन् । जसमा एन्जाइटी, डिप्रेसन र कडा खालका मानसिक रोगहरु देखिने सक्छन् ।
अर्को भनेको व्यवहारिक समस्याहरु देखिन्छन्, जसलाई बियभियर डिसअडर भनिन्छ । जसमा अपोजिसनल साइट्रीस डिसअर्डर हुन्छ । यस्तो हुने बच्चाहरु एकदमै नकरात्मक हुने, गलत सोच्ने, भनेको नमान्ने, जिद्धी हुने जस्ता समस्यामा पर्छन् ।
उमेर बढ्दै जाँदा यी रोगहरुको उपचार गरिएन अथवा हेलचक्य्राइँ गरियो भने कन्डक डिसअडर हुन्छ । जसमा बच्चा घरबाट भाग्ने, भनेको नमान्ने, सामानहरु चोरी गर्ने, झुटो बोल्नेजस्ता समस्या आउँछन् ।
मानसिक समस्या भएको कसरी थाहा पाउने त ?
वयस्कमा होस् वा बालबालिका, मानसिक स्वास्थ्य समस्याको मुख्य लक्षण भनेकै सोचाइ, व्यवहार र भावनामा परिवर्तन हुनु हो । जसले गर्दा दैनिक क्रियाकलापमा बाधा पुग्छ भने मानसिक समस्या भएको अनुमान गर्न सकिन्छ । त्यस्ता परिवर्तन देखिन थालेपछि अभिभावक सतर्क हुनुपर्छ ।
बालबालिकालाई मानसिक समस्या भएको कसरी थाहा पाउने त ?
बच्चाहरूमा पनि जुन उमेर समूहअनुसार हुनुपर्ने व्यवहार छ, त्यो व्यवहार उक्त बच्चामा छैन भने बच्चाहरु मनसिक भएको लक्षण हुन सक्छ । फरक खालको छ, पहिले सामान्य थियो तर पछि उसको व्यवहारमा परिवर्तन आउन थाल्यो भने पनि बच्चा मानसिक समस्यामा परेको हुनसक्छ ।
बच्चाको सोच्ने तरिकाहरूमा परिवर्तन देखिन्छ भने पनि उनीहरु मानसिक रोगी भएको हुनसक्छन् । बिना कारण रुने, कसैसँग नबोल्ने, एक्लै बस्न खोज्ने, झगडा गर्न खोज्ने, विद्यालय जान नमान्ने, कसैसँग पनि दैनिक अन्तरक्रिया गर्न नखोज्ने, भनेको नमान्नेजस्ता परिवर्तन देखियो भने मानसिक समस्या भएको छ भनि शंका गर्नुपर्ने हुन्छ ।
बालबालिकामा मानसिक समस्या हुने कारणहरु के हुन् ?
मानसिक समस्या हुने कारणहरूमा यसमा जैविक कारण हुन सक्छन् । जसमा वंशाणुगत कारण पनि हुन्छ । अर्को भनेको साइकोलोजिकल कारण जसमा व्यक्तिले सोच्ने तरिका, गर्ने व्यवहार, समस्यासँग सामना गर्ने तरिकाजस्ता पक्षहरुले पनि असर गर्छ । अर्को मुख्य कारण भनेको सामाजिकीकारण हो । हाम्रो सामाजमा भएका विभिन्न घटनाहरूले गर्दा व्यक्तिको मानसिक समस्याको जोखिम बढाउँछ ।
त्यस्ता घटनाहरूमा बालबालिकाको केसमा बच्चाको अघि आमाबुबाबीच झगडा भइराख्ने, बच्चाले देखिने गरी रक्सी खाने, बच्चालाई पिट्नु, गाली गर्नु जसले गर्दा बच्चाले आफ्नै घरमा असुरक्षित महसुस गर्छ ।
त्यस्तो अवस्थामा मानसिक समस्याको जोखिम बढी हुन्छ । त्यसैगरी विद्यालयको वातावरण जहाँबाट पनि साथीहरुबाट दुव्र्यवहारहरु भयो भने पनि मानसिक समस्या निम्तन सक्छ ।
त्यस्तै शिक्षकले पिटेमा, गाली गरेमा पनि तनाव बढाउँछ । त्यसैगरी सामाजमा विभिन्न कारणहरुले गर्दा बच्चाहरु जोखिम परी हिंसा, दुव्र्यवहारहरुले गर्दा मानसिक समस्याहरु बढिरहेको हुन्छ । जुन बच्चाहरुलाई यी सामाजिक कारणहरूको जोखिम रहन्छ, त्यस्ता बालबालिकाहरूमा मानसिक समस्याको जोखिम उच्च हुन्छ ।
बलबालिकामा मानसिक समस्या निम्तिन नदिन के गर्ने ?
बलबालिकामा मानसिक समस्या हुन नदिन अभिभावकको प्रमुख भूमिका प्रमुख हुन्छ । जसको लागि अभिभावक सचेत हुनु आवश्यक छ ।
अभिभावकले बालबालिकालाई रचनात्मक क्रियाकलापमा सहभागी गराउने ।
- बालबालिकालाई घरमा उनीहरूले गर्न सक्ने काममा आफूले ‘गाइड’ गरेर सहभागी गराउने ।
- बालबालिकामा हुनसक्ने मानसिक समस्याका कारणहरु पारिवारिक झै–झगडा, कलह, घरेलु हिंसा, बालबालिका माथि हुने हिंसा, शारीरिक तथा यौन दुव्र्यवहार र अन्य जस्तोसुकै घटना वा व्यवहार जसले बालबालिकालाई तनाव बढ्न सक्छ, त्यस्ता कुरामा ध्यान दिने ।
- बालबालिकाले धेरै समय विद्यालयमा बिताउने हुनाले शिक्षक तथा साथीहरूबाट हुन सक्ने दुव्र्यवहारको बारेमा पनि सचेत हुने ।
- अभिभावकले बालबालिकासँग कुरा गर्ने, के भइरहेको छ जान्न कोसिस गर्ने गर्नुपर्छ । जति धेरै बालबालिका र आमाबाबुको कुराकानी राम्रोसँग भयो उति नै समस्या पहिचान गर्न सजिलो हुन्छ ।
- यदि बालबालिकामा मानसिक समस्या भएको आफूलाई शंका लाग्यो भने समयमै समस्या पहिचान गर्न मनोपरामर्शदातासँग सल्लाह लिनुपर्छ ।
– यो सामाग्री चिकित्सा मनोविद् सिर्जना अधिकारीसँग गरेको कुराकानीमा तयार पारिएको हो ।
प्रतिक्रिया