काठमाडौं । देशकै ठूला स्वास्थ्य सुविधा दिने काठमाडौंका अस्पतालले ‘गरिबका बिरामी बच्चा’ भर्ना लिनै नमानेपछि एक परिवारले बच्चाको उपचार गराउन निक्कै पीडा भोग्नु परेको छ ।
आज साेमबार बिहान अन्दाजी १० बजेदेखि १७ महिनाको बच्चा मेशिनमा हात परेर किचिएपछि उपचार गराउन प्रेम बिकको परिवार सहयोगी गुहार्दै सिभिल अस्पताल पुग्यो ।
सिभिलले बिरामी बच्चाकाे हातमा सामान्य ‘मलमपट्टी’ गरेर उक्त अस्पतालमा उपचार सम्भव नहुने भन्दै ट्रमा अस्पतालमा पठायो । दैनिक ज्यालादारीमा काम गरेर जिवीका चलाउनेृ प्रेम बिकको परिवार सहयोगीसँग हार गुहार माग्दै बिरामी बच्चा लिएर ट्रमा अस्पताल पुगे ।
तर ट्रमाले पनि डाक्टर छैन भन्ने बाहाना बनाउँदै टिचिङ अस्पतालमा रिफर गरिदियो । टिचिङ अस्पतालले पनि ‘यहाँ उपचार हुँदैन । हामी उपचार गर्दैनौं’ भनेर जोरपाटीको अर्थोपेडिक अस्पताल रिफर गरिदियो ।
जोरपाटीमा त आफ्नो बच्चाको उपचार होला कि भन्ने आशा राखेका परिवारलाई त्यहाँबाट पनि सुस्मा कोइराला मेमोरियल अस्पताल रिफर गरियो । यो समाचार बनाउँदा बल्ल बेलुकाको ८ बजेपछि सुस्मा कोइराला मेमोरियल अस्पतालले बच्चाको उपचारका लागि भर्ना लिन मानेकाे प्रेम बिककाे बच्चाकाे उपचारमा सहयाेग गरिदिन गएका रुद्र मल्लले जानकारी दिए । मल्ललगायत अन्यले उपचार गरिदिन निक्कै आग्रह गरेपछि मात्रै प्रेम बिककाे छाेराकाे उपचारका लागि अस्पतालले बिरामी भर्ना लिएकाे हाे ।
प्रेम बिकको परिवार काठमाडौंको शान्तिनगरमा कपडा रंगाउने काम गर्छन् । त्यहीँबाट आएको कमाइबाट जेनतेन उनीहरुले दैनिकी धान्दै आएका छन् । उनीहरुकाे बच्चाकाे उपचारका लागि आर्थिक सहयाेग आवश्यक भएकाले उनीहरु सहयाेगकाे याचना गरिरहेका छन् ।
दाेलखाकाे मेलुङ गाउँपालिका वडा नम्बर ५ घर भएका बिक काठमाडाैं महानगर वडा नम्बर १३ शान्तिनगरमा बस्दै आएका थिए ।
काठमाडौंमा ठूला नेता र भिआईपीलाई सजिलै भर्ना लिन सक्ने अस्पतालहरुले गरिबका बच्चाहरु भने भर्ना लिनै मान्दैनन् भन्ने यो घटना एक उदाहरण मात्रै हो । अस्पतालमा पनि बर्ग विभेद झल्किने यो घटनाले नेपालको स्वास्थ्य क्षेत्रको सुधार गर्न निक्कै ढिला भइसकेको जनाउ दिन्छ ।
-यस घटनासँग सम्बन्धित समाचार विस्तृतमा भाेलि प्रकाशन हुनेछ ।
प्रतिक्रिया