Logo

अर्थ

प्रोजेक्ट बैंकबाट होइन, पकेटबाट योजना छानिए : सांसद भट्टराई



काठमाडौं । प्रमुख सत्तारुढ नेकपा एमालेले बजेटलाई लिएर देखाएको असन्तुष्टि रोकिएको छैन । आइतबार प्रतिनिधि सभाको बैठकमा एमाले सांसद योगेश भट्टराइले बजेट निर्माण प्रक्रियामा पुरानै ढाँचा अबलम्वन गरिएको भन्दै असन्तुष्टि जनाए ।

विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै भट्टराईले बजेट निर्माण प्रक्रिया पुरानै ढाँचाबाट आएको टिप्पणी गरे । उनले यसमा ठूलो नीतिगत र संरचनागत परिवर्तन आवश्यक भएको पनि उनले सुझाए ।

तीन करोडमाथिका मात्रै आयोजनालाई बजेटमा राख्ने प्रधानमन्त्रीको प्रतिबद्धता विपरीत स-साना आयोजना पनि राखिँदा कुनै प्रतिफल नआउने धारणा राखे ।

तीन तहलाई निश्चित अंक बराबरको बजेट व्यवस्था गर्ने प्रणालीलाई स्थापित गर्न सके परिणाममुखी रुपमा बजेटको कार्यान्वयन गर्न सकिने उनले बताए । पुँजीगत खर्च घटिरहेको र वित्तीय खर्च धेरै भइरहेको अवस्थालाई सुधार ल्याउनुपर्नेमा उनले जोड दिएका छन् ।

‘अर्थमन्त्रीको त्यस विषयमा ध्यान जान जरुरी छ । योजना आयोगको आयोजना बैंकमार्फत अर्थमन्त्रालयले योजनाहरू ल्याउनुपर्ने हुन्छ’, उनले भने, ‘तर, आगामी आर्थिक वर्षको बजेट बनाउने क्रममा योजना बैंकको प्रतिविम्ब छैन । प्रोजेक्ट बैंकको सट्टामा पकेट बैंक जस्तो योजना छनोट भएको देखिएको छ ।’

 

प्रकाशित मिति : २ असार २०८१, आईतवार १५:१८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।