Logo

अर्थ

आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्‍याउन सकिन्छ : अर्थसचिव मरासिनी



काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्याउन सकिने बताएका छन् । आइतबार राजधानीमा आयोजित बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

मरासिनीले भने, ‘पछिल्लो समय अर्थतन्त्र सुधार हुँदै गएकोले आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्याउन सकिन्छ । हामीले ६ प्रतिशतको मात्रै लक्ष्य राखेका छौँ, त्योभन्दा पनि बढी हासिल गर्ने गरी काम गर्न सकिने स्थिति बनिरहेको छ ।’

उनले अहिले अर्थतन्त्र सही मार्गमा अघि बढेको र आर्थिक गतिविधि बढ्ने स्थिति बनिसकेको बताए । तर, त्यसलाई तीव्रता दिन र अर्थतन्त्रमा चाँडो सुधार ल्याउन हाल चलिरहेको भाष्यमा सुधार ल्याउन आवश्यक रहेको बताए ।

अर्थसचिव मरासिनीले भने, ‘यो भाष्यलाई परिवर्तन गर्नुपर्छ, अर्थतन्त्र कन्फिडेन्सले पनि चल्ने हो । मुहार हेरेर पनि कारोबार गर्नु पर्ने अवस्था आउन सक्छ । बैंकर साथीहरूले पनि यो विषयमा मनन गर्नुपर्छ ।’

यस्तै उनले पछिल्लो समय बैंकका लिलामीका सूचना देख्दा दुःख लाग्ने गरेको अनुभव सुनाए । ‘यो समस्याको समाधानका लागि सबैको सहकार्यमार्फत अगाडि बढ्नुपर्ने हुन्छ’ उनले भने ।

यस्तै, प्रतिव्यक्ति आयको हिसाबमा एसियामा नेपाल केही पछाडि भए पनि वित्तीय स्थिरता तथा आधारभूत सूचकहरूमा अन्य देशको तुलनामा अगाडि नै रहेको उनले धारणा राखे । पछिल्लो समय अधिकांश मानिसहरूले बजेटको भन्दा मौद्रिक नीतिमाथि विश्वास गर्दा चिन्ता र चुनौती थपिएको पनि उनले बताए ।

प्रकाशित मिति : ९ असार २०८१, आईतवार ११:४०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।