Logo

अर्थ

१० हजारले अवलोकन गरे आँप मेला, ३२ हजार किलो आँप बिक्री



काठमाडौं । नेपालमा पहिलोपटक भएको आँप मेला उत्साहजनक उपस्थितिमा सम्पन्न भएको छ । किसान भेन्चर र काठमाडौं अर्गानिक्सको संयुक्त आयोजनामा असार ७ देखि ९ गतेसम्म काठमाडौं र ललितपुरका विभिन्न स्थानमा मेला भएको थियो ।

मेला अवधिभर १० हजार जनाले अवलोकन गरेको र २७ हजार किलो आँप बिक्री भएको आयोजकले जनाएको छ । पहिलो दिन वालनट बिस्ट्रो पानीपोखरीमा मेलाको उद्घाटन भएको थियो । वालनट बिस्ट्रो, काठमाडौं अर्गानिक्स बाँसबारी, उत्पला क्याफे बौद्ध र द गार्डेन्स झम्सिखेलमा बिक्री स्टलहरू राखिएका थिए । कार्यक्रमको उद्घाटन समारोहमा शुक्रबार १५ सय जना उपस्थित थिए । सो दिन विभिन्न ८ हजार किलो आँप बिक्री भएको थियो । यस्तै दोस्रो दिन १२ हजार किलो र अन्तिम दिन आइतबार ७ हजार किलो आँप बिक्री भयो । मेलामा माल्दा, देशरी, बम्बै, जर्दा, कृष्णभोग, नजरिया बम्बै, अम्रपाली, कलकत्तिया, दुधया माल्दा र गुलाबखाससहित विभिन्न भेराइटीका आँपहरु प्रदर्शनमा राखिएका थिए ।

उद्घाटन कार्यक्रमपछि काठमाडौं अर्गानिक्स, उत्पला क्याफे बौद्ध र द गार्डेन झम्सिखेलमा तीन दिन नै आँप र आँपबाट बनेका विभिन्न उत्पादनहरु प्रदर्शनी एवं बिक्री वितरण गरिएका थिए ।मेलामा सर्लाही, सप्तरी, र सिराहाका ५० जना किसानहरूबाट प्रत्यक्ष खरिद गरेर ल्याइएका विभिन्न प्रजातिका आँपहरू प्रदर्शनीमा राखिएका थिए । मेला अवधिभर विभिन्न प्यानल डिस्कसन कार्यक्रम पनि भएका थिए । उक्त अन्तरक्रिया कार्यक्रममा किसानहरुले सरकारबाट सहयोग प्राप्त नभएको गुनासो गरेका थिए भने बजार व्यवस्थापकले बजारका समस्या र विज्ञले बजार कसरी चल्छ भन्ने विषयमा छलफल गरेका थिए ।

नेपालमै विभिन्न प्रजातिका आँप पाइने भएता पनि आँपको मौसममा भारतीय उत्पादनले नेपाली बजार कब्जा गरिरहेको अवस्थामा नेपाली आँपको प्रचलन बढाउन, किसानलाई प्रोत्साहन गर्न र उपभोक्तालाई विषादीरहित स्वच्छ आँपको पहुँच पुर्‍याउन मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ । ‘पहिलो आँप मेला भव्यताका साथ सम्पन्न भयो । आगामी वर्ष यो भन्दा उत्कृष्ट मेलाको आयोजना गर्नेछौँ । जहाँ अहिलेभन्दा बढी किसानसँग समन्वय गरी धेरै सहरमा धेरै भेराइटी, सेल्स काउन्टर र रमाइला कार्यक्रमहरु आयोजना हुनेछन्,’ आयोजक किसान भेन्चरका सीईओ राजेश कार्कीले बताए ।

आँप मेलाको सफलतापछि यसै वर्ष अब स्याउ, सुन्तला, नेपाली जुनार र टिमुर मेलाको पनि तयारी भइसकेको जानकारी कार्कीले दिए । धेरै स्थानीय किसानलाई प्रोत्साहन गरी नेपाली उत्पादनको बजार विस्तारका लागि यस्ता मेलाहरु जरुरी भएको बताउँदै उनले त्यसैले अन्य मेलाको पनि तयारी गरेको बताए । अगाडि उनले भने, ‘नेपालले कृषि, खाद्य, नवप्रवर्तन र प्रविधि क्षेत्रमा लगानी गर्नुपर्छ, यसैमा धेरै सम्भावना छन् ।’किसान भेन्चरले विदेशी लगानी भित्र्याएर यी क्षेत्रमा लगानी गर्ने तथा नेपाली उत्पादनहरु विभिन्न देशमा निर्यात पनि गर्ने योजना बनाइरहेको छ ।

प्रकाशित मिति : ११ असार २०८१, सोमबार १५:२३   :  बजे

183
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।