Logo

अर्थ

नेपालमा उत्पादित अलैँचीलाई विश्व बजारमा निर्यात गर्न कूटनीतिक पहल गर्नुपर्छ : सभामुख घिमिरे



काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालमा उत्पादित अलैँचीलाई विश्व बजारमा निर्यात गर्न सरकारले कूटनीतिक पहल गर्न आवश्यक रहेको बताएका छन् । सोमबार ललितपुरमा आयोजित ‘अलैँचीबारे वर्तमान स्थिति अवसर र चुनौती’ विषयक राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सभामुख घिमिरेले नेपाली अलैँचीको बजार सुनिश्चित नभएकाले सरकारले विदेश निर्यातको लागि पहल गर्न आवश्यक रहेको बताए । उनले नेपालमा उत्पादित अलैँची भारतमा निर्यात हुने तर भारतले आफ्नो उत्पादन भन्दै विश्वबजारमा निर्यात गर्ने गरेको बताए । उनले विश्व बजारमा नेपालमा उत्पादित अलैँची सिधै निर्यात गर्ने वातावरण बनाउन सरकारले सहजिकरण गर्न आवश्यक रहेको बताए ।

सभामुख घिमिरेले अलैँचीबाट विभिन्न अन्य वस्तुहरू समेत बनाउन सक्ने अवस्था रहेको बताए । उनले अलैँचीलाई अनलाइन मार्केटिङको रूपबाट विकास गर्न पनि आवश्यक रहेको बताए ।

उनले अहिले बिचौलियाहरूले बीचमा मुनाफा खाने काम गर्दा उत्पादकहरूले उचित मूल्य नपाउने र उचित मूल्य नपाउँदा बजार पनि अनिश्चित भएर जाने अवस्था रहेको बताए । उनले भारतमा निर्यातमा पनि विभिन्न जटिलताहरू रहेको भन्दै सरकारले अलैँची निर्यात नीतिगत रूपमा सहजिकरण गर्न आग्रह गरे ।

सभामुख घिमिरेले भारतमा अलैँची निर्यातमा रहेका समस्या हटाउन दुई देशबिचमा त्रिपक्षीय छलफल गर्न आवश्यक रहेको बताए । उनो अलैँचीको रोगहरूलाई हटाउने र प्लानटेशनहरु गरी बिरुवालाई उत्पादनमुखी बनाउन सकेको खण्डमा असन्तुलित बजारलाई सन्तुलनमा ल्याउने र निर्यात गर्दा विदेशी मुद्रा आर्जन समेत सकिने बताए ।

प्रकाशित मिति : ११ असार २०८१, सोमबार १७:०७   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।