काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सुशासन सम्बन्धी व्यवस्थाको बेवास्ता गरेको पाईएको छ । बैंकले लामो समयदेखि एउटै कर्मचारीलाई विभागको जिम्मेवारी दिएर यस व्यवस्थाको उलंघन गरेको हो ।
बैंकका कर्मचारी भिम प्रसाद घिमिरे संस्थागत सुशासनको मर्यादा विपरीत विगत ७ बर्षदेखि मानव संसाधन (एचआर) विभागमा रहेका छन् । यस अघि नेपालगंन्ज शाखाका असिस्टेन्ट प्रमुख रहेका घिमिरे सातौं, आठौं, नवौं र दशौं तहसम्म आईपुग्दा समेत मानव संसाधन विभागमै कार्यरत छ्न् ।
यस बिषयमा नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण र बाह्य लेखापरीक्षणले समेत बैंक व्यवस्थापनलाई बारम्बार सचेत गराएको छ । तर, बैंकका तत्कालीन सिइओ किरण कुमार श्रेष्ठ लगायत केहि संचालक समिति सदस्यको संरक्षणमा घिमिरे अझै उक्त विभागका प्रमुख छन् ।
कर्मचारीहरूको कार्य सम्पादन मूल्कयांकनदेखि कर्मचारी सरुवा बढुवामा यस विभागको भुमिका महत्त्वपूर्ण रहन्छ । जसका कारण मानव संसाधन विभाग बैंकको महत्त्वपूर्ण विभाग मध्य मानिन्छ ।
बैंकमा घिमिरे मात्र होइनन्, कम्प्लाइन्स विभागका प्रमुख कृष्ण शाह पनि विगत ५ बर्षदेखि एउटै विभागको जिम्मेवारीमा छन् । त्यस्तै बैंकक कर्मचारी भवानी शंकर निरौला विगत ५ बर्षदेखि कानून विभागका प्रमुख रहेका छन् ।
नेपाल राष्ट्रबैंकको डाइरेक्ट्री नम्बर ६ मा गरिएको संस्थागत सुशासन सम्बन्धी व्यवस्थामा एउटै व्यक्ति २ बर्षभन्दा बढी समयसम्म एउटै विभागमा रहन नसक्ने प्रष्ट रुपमा उल्लेख गरिएको छ। तर राष्ट्रिय वाणिज्य बैंकले भने यस व्यवस्थाको खिल्ली उडाएको देखिन्छ ।
संस्थागत सुशासन विपरित स्वार्थ बाझिने गरि यस विभागमा लामो समयसम्म रहेका घिमिरेले कर्मचारी सरुवा बढुवामा समेत अनियमिता गरेको पाईएको छ । उनले आर्थिक बर्ष २०८०/८१ मा ९ महिनासम्म अमेरिका बसेर फर्केका ट्रेजरी विभागका उप-प्रमुख पुस्पचन्द्र थापालाई अस्वभाविक तरिकाले बढुवा गरेका छन् । घिमिरेले थापालाई मनोमानी ढङ्गले नवौं तहबाट दशौं तहमा बढुवा गरेका हुन् ।
त्यस्तै, घिमिरेले आरबिबी ब्रोकरकी सिइओ बेनी शाहलाई पनि एचआर निममावलीमा भएको व्यवस्था विपरीत बढुवा गरेका छन् । बैंकले लिएको आन्तरिक परिक्षामा उनी अनुत्तीर्ण भइन् । एनआईसी यसिया बैंकबाट आएकी उनलाई समान योग्यताका प्रतिस्पर्धी भन्दा कम अंक दिएर अनुत्तीर्ण गराईयो । यसमा असन्तुष्टि जनाउँदै शाहले बोर्डमा उजुरी गरिन् । बोर्डले पनि बैंककै निर्णय सदर गरेपछि उनले बैंक विरुद्ध अदालतमा मुद्दा दायर गरिन् ।
बोर्डको निर्णय विरुद्ध मुद्दा दायर गरेमा २ अंक घटाएर मुल्यांकन गरिने व्यवस्था छ । तर, अर्थ मन्त्रालयको दवावमा उनलाई उक्त अंक नघटाइ बढुवा गरिएको छ ।
त्यसैगरी, घिमिरेले आफ्नो पदिय मर्यादा विपरित पदपूर्तीमा समेत आफ्ना आफन्त र आफूलाई मन पर्ने नजिकका व्यक्ती नियुक्त गरि अनियमित तरिकाले बढुवा गर्ने गरेको बैंककै कर्मचारीहरुको गुनासो छ ।
यतिमात्र होइन, घिमिरेले बैंकका सुत्केरी र अशक्त महिला कर्मचारीमाथी समेत अन्यायपूर्ण व्यवहार गर्ने गरेको बैंककै एक जुनियर महिला कर्मचारी बताउँछिन् । उनी भन्छिन्, ‘हामीले त केही घर पाएक पर्ने गरि केही समयका लागि काज मात्रै माग्यौ भने पनि अनेकौं बहाना बनाईन्छ तर सरलाई मनपर्ने मान्छे भयो भने त सरुवा नै मिलाईदिनुहुन्छ ।’
घिमिरेले एचआर प्रमुख भएपछि विभिन्न देशको भ्रमण गरिसकेका छन् । उनले आफ्नो विदेश भ्रमण आफैँ स्वीकृत गर्ने गरेको बैंक स्रोतको दावी छ । घिमिरे हालै मात्र फिलिपिन्सको भ्रमण गरि नेपाल फर्केका छन् ।
प्रतिक्रिया