Logo

अर्थ

कर छली आशंकामा बीवाईडीसहितका ब्रान्डमाथि अनुसन्धान



काठमाडौं । राजश्व अनुसन्धान विभागले कर छली आशंकामा चिनियाँ विद्युतीय सवारी ब्रान्डलाई प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको छ ।

राज्यले बजेटमार्फत दिएको छुटलाई दुरुपयोग गर्दै कर छली गरेको गोप्य सूचना पाएपछि विभागले चीनबाट आयातित सबैजसो विद्युतीय सवारी ब्रान्डमाथि छानबिन गरिरहेको हो ।

केहि दिन अघि विभागले विद्युतीय सवारी साधनमा कर छली भइरहेको आशङ्कामा ईभीको आयातसँग सम्बन्धित सम्पूर्ण कागजात मगाएको थियो ।

विभागले विशेष गरेर चिनियाँ ईभी ब्राण्ड बीवाईडीलाई प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेकाे जनाएको छ । अनुसन्धानका क्रममा विभागबाट खटिएको टोलीले बीवाईडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंकमा छापा मारेको छ । छापा मारेर ल्याइएको कागजात अपूग भएपनि विभागले थप काजजात पनि माग गरेको छ । विभागले अहिले थप कागजातका आधारमा अनुसन्धान भईरहेको जनाएको छ ।

राजश्वको माग बमोजिमका कागजात लिएर साइमेक्सका कर्मचारी महानिर्देशक समक्ष नै उपस्थित भएका थिए । ‘विद्युतीय सवारी वीवाईडीको कागजात प्राप्त गरेपछि त्यसलाई ‘भेरिफाई’ गर्न भन्सार विभागसँग थप विवरण मागिएको छ,’ अनुसन्धानमा संलग्न कर्मचारीले भने ।

राजश्वले भन्सारलाई लेखेको पत्रमा आयात गर्दा भन्सार जाँचपासमा बुझाइने सम्पूर्ण विवरण माग गरिएको छ । वीवाईडीमाथिको छानबिनबाट आउने तथ्यका आधारमा अन्य कम्पनीमाथि अनुसन्धान गर्ने विभागको तयारी छ । यसैपनि विभागले भन्सार कार्यालयबाट विवरण मागेपछि सो विवरणका आधारमा अनुसन्धान अघि बढ्नेछ । थप सहयोगका लागि विज्ञलाई संलग्न झिकाउने तयारी पनि विभागको छ ।

भन्सार कार्यालय अर्थ मन्त्रालय मातहतको निकाय र राजश्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहतको निकाय हुन् । यसै विषयमा बीवाईडीसँगै एमजी मोटर्सको ईभी सवारीबारे समेत विभागले विवरण माग गरेको छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार १८:११   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।