काठमाडौं । सरकारले भदौ महिनामा सेयर बजारबाट २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको छ । बजारमा आएको उच्च गिरावटका बाबजुत पूँजीगत लाभकर भने उल्लेख्य देखिन्छ ।
भदौमा व्यक्तिगत दीर्घकालीन पूँजीगत लाभकर ७३ करोड ३९ लाख रुपैयाँ संकलन भएको छ भने व्यक्तिगत अल्पकालीन पूँजीगत लाभकर १ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ संकलन भएको सीडीएस एण्ड क्लियरिङले जनाएको छ । यो रकम साउनको तुलानमा ३९ प्रतिशतले कम हो ।
व्यक्तिगत लगानीकर्ताले सेयर खरिद गरेको १ वर्षभन्दा कम समय होल्ड गरेर बिक्री गर्दा आएको नाफामा ७.५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका छन् भने १ वर्षभन्दा बढी अवधि होल्ड गरेर बिक्री गर्दा आएको नाफामा ५ प्रतिशत तिर्दै आएका छन् ।
साउन महिनामा सेयर बजारबाट राज्यलाई ४ अर्ब २३ करोड ७८ लाख ६१ हजार रुपैयाँ बराबरको पूँजीगत लाभकर गएको थियो । साउन महिनाभरमा नेप्सेमा ४१४ अर्ब हाराहारीमा सेयर कारोबार भएको थियो । यो महिनामा नेप्से परिसूचक ६९०.२२ अंकले बढेको थियो।
तर भदौ महिनामा नेप्से परिसूचकमा उच्च गिरावट पनि सरकारले भने साढे २ अर्ब बढीको राजश्व संकलन गर्न सफल भएको छ । गत महिना सेयर बजार १४ प्रतिशत अर्थात ४२० अंकले घट्यो ।
त्यस्तै कर्पोरेट पूँजीगत लाभकर ३० करोड ४० लाख रुपैयाँ संकलन भएको छ भने स्टक डिलरको पूँजीगत लाभकर ३० लाख ३९ हजार रुपैयाँ संकलन भएको छ ।
सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन र भदौमा गरी कुल ६ अर्ब ८१ करोड ४७ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ ।




















प्रतिक्रिया