काठमाडौं । एउटै व्यक्ति पटक पटक प्रधानमन्त्री बन्दा जनतामा एक प्रकारको वितृष्णा उब्जिएको छ ।
लामो समय सत्तामा बसिरहने तर जनताको हितमा काम गर्न नसक्ने प्रवृत्तिले गर्दा दलहरू मिल्नु र नमिल्नुको कुनै अर्थ देखिँदैन । २०६२/६३ को राजनीतिक परिवर्तन पछि जनतालाई ठुलो आश्वासन र विश्वास नेताहरूले दिएका थिए ।
तर, जब उनीहरू कुर्सीमा पुगे त्यसबेला उनीहरूले जनतालाई दिएको आश्वासनहरू पूरा गर्नुको बदला उनीहरू विभिन्न प्रकारका काण्डमा मुछिँदै गए । भ्रष्टाचारले सीमा नाघ्यो ।
अनेक प्रकारका भ्रष्टाचार भए । पाँच पटक प्रधानमन्त्री भैसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छैठौँ पटक प्रधानमन्त्री बन्ने लाइनमा बसेका छन् ।
विगतमा देउवाको प्रधानमन्त्री कार्यकाल कहिल्यै सुखद रहेन । पुष्पकमल दाहालका पालामा अनेक प्रकारका काण्डहरू भएका छन् । उनैको पालामा ललिता निवास जग्गा काण्डमा मुछिएका पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईलाई उन्मुक्ति दिइयो ।
दाहाल नै प्रधानमन्त्री रहेका बेला नक्कली भुटानी शरणार्थी काण्ड भयो । पछिल्लो समयमा अर्थात केपी ओली प्रधानमन्त्री भएको ६५ दिन नपुग्दै पुष्पकमल दाहाल सरकारको विरोधमा हात धोएर लागि परेका छन् । संघीय संसदको प्रमुख विपक्षी दलका नेता भएको नाताले मुलुकलाई सुशासन कायम गराउने र जनतालाई आशा जगाउने काम दाहालको समेत हो ।
तर, उनी सत्ता बाहिर रहनु पर्दाको पिडा पोख्दै मुलुक श्रीलंका र बंगलादेशको हुन सक्छ भन्दै धम्की दिइरहेका छन् । ओली प्रधानमन्त्री हुनुभन्दा अघि उनै दाहाल प्रधानमन्त्री रहेका थिए ।
ओलीले त्यस्तो के काम गरे ६०÷६५ दिनमै श्रीलंका र बंगलादेश हुन सक्ने ? त्यसको उत्तर पुष्पकमल दाहालले जनतालाई दिनुपर्दछ ।
जनतालाई भड्काएर झुठका पोकोको आश्वासन दिने दाहालको प्रवृत्ति पुरानै हो । जब उनी सत्तामा पुग्छन् त्यसैबेला उनले केही देख्दैनन् अनि सत्ताबाट बाहिरिनु पर्दा मुलुक संकटमा पुगेका देख्छन् ।
दाहालको अस्थिर राजनीति चरित्रले गर्दा १८ वर्षमा १४ वटा सरकार बनेका छन् । आफ्नो नेतृत्वमा बनेको सरकारहरूले जनताका लागि के गरे त ? ओली प्रधानमन्त्री भएको ६०÷६५ दिनभित्र नेपाल श्रीलंका र बंगलादेश बन्न सक्छ भन्ने अभिव्यक्ति संघीय संसदको रोष्ट्रमबाटै दिनुको कारण के हो ?
ओली भन्दा अगाडि उनै दाहाल प्रधानमन्त्री रहेका थिए । यदि नेपाल श्रीलंका र बंगलादेश बन्न सक्छ भने दाहालकै कारण बन्न सक्छ । पालैपालो कांग्रेस–एमालेलाई खेलाउन सफल हुँदै आएका दाहालको अस्थिर राजनीतिक चरित्रकै कारण कांग्रेस–एमालेको मिलन भएको हो ।
ओली नेतृत्वको सरकारले जनतामा आशा जगाउन सक्छुपर्दछ सरकारको नीति तथा कार्यक्रम तत्काल सार्वजनिक गरिनुपर्दछ । देश श्रलिंका र बंगलादेश बन्न सक्छ भन्ने अभिव्यक्ति दिँदै आएका पूर्व प्रधानमन्त्री दाहालले समेत त्यसको जिम्मेवारी लिनुपर्दछ कि पर्दैन ?
उडन्ते गफ दिएर जनतालाई भ्रममा राखेर केही समय रमाइलो होला तर जब जनताले असली हैसियत थाहा पाउँछन् त्यसबेला दाहालको हैसियत कस्तो होला ?
जनताले कसलाई विश्वास गर्ने ?
पछिल्लो समय मुख्य समस्या सहकारी ठगीले बजारमात्र तताएको मात्र छैन राजनीतिक दलका नेताहरू नै सहकारी ठगी प्रकरणमा मुछिएको समाचारहरू प्रकाशित र प्रसारित भएपछि स सानो रकम सहकारीमा जम्मा गर्ने व्यक्तिहरू समस्यामा परेका छन् ।
राजनीतिलाई सेवा गर्ने थलोका रुपमा लिइने गरिएको भएपनि राजनीतिकज्ञहरू नै ठगी प्रकरणमा मुछिएपछि राजनीतिज्ञप्रति जनताको आक्रोश बढ्दै गएको छ ।
अब जनताले कुन दल र कुन दलका नेतालाई विश्वास गर्ने भन्ने प्रश्न समेत उठेको छ । आफूले बचत गरेको रकम नपाएपछि जनताले के गर्ने ? कसलाई भन्ने ? हरेक नेतालाई कुनै न कुनै दाग लाग्दै आएको छ ।
राजनीतिज्ञहरू नै दोषी देखिएपछि कसलाई कारबाही गर्ने, कसलाई के भन्ने ? यो प्रश्नको जवाफ अब कसले दिने ? कांग्रेसका उपसभापति धनराज गुरुङ सहकारी ठगी प्रकरणमा मुछिएका छन् ।
गुरुङमाथि अहिले नेपाल प्रहरीको अनुसन्धान व्यूरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ । गुरुङकी पूर्व श्रीमती ज्योती गुरुङसँग मिलेर मितेरी सहकारीको करिब १४ करोड रुपैँया ठगी गरेको आरोप लगाउँदै मितेरी सहकारीका अध्यक्ष र सञ्चालकहरूले सिआइबीमा जाहेरी दिएका छन् ।
श्रीमती ज्योती गुरुङसँग सम्बन्ध विच्छेद गरेको उपसभापति गुरुङले बताएका भएपनि त्यो कागजी घाँेडा मात्र भएको उनीमाथि आरोप लागेको छ ।
गुरुङले सम्बन्ध विच्छेद भएको बताएका भएपनि सम्बन्ध विच्छेदपछि पनि उनले सो सहकारीमा केही रकम बुझाएका हुनाले त्यो सम्बन्ध विच्छेद नक्कली भएको र सहकारीको रकम अपचलन गर्नका लागि मात्र सम्बन्ध विच्छेदको नाटक गरिएको मितेरीका अध्यक्ष कुम्भराज गुरुङले बताएका छन् ।
रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री तथा सांसद रवि लामिछानेमाथि समेत सहकारी रकम ठगी गरेको आरोप लागेको छ । सो सम्बन्धमा संघीय संसदले सहकारी ठगी सम्बन्धी संसदीय छानविन समिति नै गठन गरेर छानविन गरेको छ ।
त्यसैगरी नक्कली भुटानी शरणार्थी काण्ड, सुन तस्करी काण्ड, ललिता निवास जग्गा काण्ड, बालमन्दिर जग्गा भाडामा दिएको काण्ड, बाँसबारी छालाजुत्ता काण्ड लगायतका धेरै काण्डहरू बाहिर आएका छन् ।
ललिता निवास जग्गा काण्डमा तत्कालिन प्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईलाई पुष्पकमल दाहाल नेतृत्वको सरकारले उन्मुक्ति दिएको थियो भने केही पूर्वमन्त्रीहरू र केही कर्मचारीहरूलाई भने मुद्दा चलाइएकोमा केहीले सफाई पाइसकेका छन् भने केही दोषी ठहर भईसकेका छन् ।
राजनीतिक परिवर्तनपछि मुलुकमा ठुला भ्रष्टाचारका काण्डहरू भएका र ती सबै काण्डमा राजनीतिज्ञहरू र उनीहरूका परिवार संलग्न रहेका भएपनि सत्ताको बलमा उनीहरूमाथि कुनै कारबाही हुन सकेको छैन ।
राजनीतिलाई कमाई खाने भाँडोको रुपमा प्रयोग गर्ने गरिएको हुनाले पछिल्लो समयमा राजनीतिक र राजनीतिज्ञहरूमाथि जनताको विशवास घट्दै गएको छ । त्यसैको परिणाम हो राजनीतिज्ञहरूका विरुद्धमा नाराबाजी हुनु, अभियान साप्ताहिकमा खबर छ ।
जनताले भन्न थालको छन् । के राजनीतिमा लाग्नु भनेको सरकारी ढुकुटीमा दोहन गर्नु र भ्रष्टाचार गर्नैका लागि मात्र हो ? त्यसैले जुनसुकै अपराधमा संलग्न भएका जोसुकै र जुन पदमा बसेका भएपनि उनीहरूलाई कानुनी दायरामा ल्याएर जनताको विश्वास जित्न सक्नुपर्दछ ।
जनतालाई ऋणमा डुबाएर राजनीतिज्ञहरू उम्किन पाउने छैनन् । यो जनताको आवाज हो त्यसैले सावधान राजनीतिज्ञहरू हो ।





















प्रतिक्रिया