काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दुहरूको महान् पर्व बडादसैँ आजबाट सुरु भएको छ । आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ । बिहान ९:१६ मिनेटको साइतमा जौको जमरा राखिएको हो ।
सो अवसरमा नेपाली सेनाको एक टोलीले मंगल धुन बजाउनुका साथै हर्ष बढाइँ पनि गरेको थियो ।
आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर घडा वा कलश स्थापना गरी जौ छरिन्छ ।
आज छरिएको जौको अंकुरण (जमरा)लाई दशमीको दिन देवीको प्रसादको रुपमा टीकासँगै ग्रहण गरिन्छ ।
विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यताअनुसार आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको हो ।
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
बडादशैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्राइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैं घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् ।
यस वर्षको दशैंको टीका असोज २६ गते शनिबार परेको छ । विजयादशमीका दिन बिहान ८:३३ मिनेटमा देवी विसर्जन गरेपछि ११:३६ मिनेटको शुभ साइतमा मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिनेछ ।















प्रतिक्रिया