काठमाडाैं । वाणिज्य बैंकहरुले दुई महिनामै साढे १७ अर्ब बढी नाफा कमाएका छन् ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याँकअनुसार साउन र भदौ महिनामा बैंकहरुले १७ अर्ब ६९ करोड २१ लाख रुपैयाँ नाफा कमाएका हुन् ।
गत आर्थिक वर्षको पहिलो दुई महिनामा बैंकहरुले १६ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ नाफा कमाएका थिए । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा बैंकहरुले १ खर्ब ४ करोडले नाफा बढाएका छन् ।
भदौ मसान्तसम्ममा नबिल, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन, कुमारी बैंकको नाफा अर्ब भन्दा बढी छ ।
त्यस्तै, नेपाल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, एनआइसी एशिया, कुमारी बैंक र ग्लोबल आइएमई बैंक गरी ६ वटा बैंकको नाफा भने गत आवको तुलनामा घटेको छ ।
सर्वाधिक नाफा कमाउनेमा भने नबिल बैंक नै पहिलो सूचीमा छ । चालु आवको दुई महिनामा नबिलले १ अर्ब ६६ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत साउनमा मात्रै बैंकले ८० करोड ३३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
त्यस्तै, ग्लोबल आइएमईले दुई महिनामा १ अर्ब ५६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत साउनमा सर्वाधिक नाफा ८९ करोड २४ लाख रुपैयाँ कमाएको थियो । तर, भदौ अन्तसम्म आइपुग्दा भने दोस्रो पोजिशनमा पुगेको हो ।
गत साउनमा पाँचौं स्थानमा रहेको एनआइएमबि बैंक पनि भदौमा भने तेस्रो स्थानमा आएको छ । समिक्षा अवधिमा बैंकले १ अर्ब ४१ करोड २८ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ । साउनमा भने बैंकले ५७ करोड ७५ लाख ६० हजार रुपैयाँ नाफा कमाएको थियो ।
चौंथो स्थानमा रहेको हिमालयन बैंकले पनि दुई महिनाको अवधिमा १ अर्ब १६ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । पाँचौं स्थानमा फड्को मारेको कुमारी बैंकले भने १ अर्ब ८ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ ।
यस्तै, प्राइम बैंकले ९७ करोड ४६ लाख, प्रभूले ९१ करोड ३२ लाख, कृषि विकासले ८८ करोड ७० लाख, राष्ट्रिय वाणिज्य बैंकले ८८ करोड ३ लाख, लक्ष्मी सनराइजले ८६ करोड ४६ लाख र एभरेष्ट बैंकले ८२ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ ।
त्यस्तै, एनएमबि बैंकले पनि ७८ करोड २ लाख, सानिमा ६८ करोड ९२ लाख, नेपाल बैंकले ६७ करोड ८२ लाख, स्ट्याण्डर्ड चार्टर्डले ६० करोड ६२ लाख, सिद्धार्थले ६० करोड ५६ लाख, सिटिजनले ५८ करोड ९८ लाख, एनआइसी एशिया ५७ करोड ७५ लाख, नेपाल एसबिआईले ५३ करोड ३९ लाख, माछापुच्छ्रे बैंकले ३९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।




















प्रतिक्रिया