काठमाडौं । भारत र चीनबीच सीमा क्षेत्रमा हुने सैनिक गस्तीको विषयमा सहमती भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २२–२३ अक्टुबरमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन रुस प्रस्थान गर्नुअघि सोमबार भारतीय विदेश मन्त्रालयले वास्तविक नियन्त्रण रेखा अर्थात् एलसीमा हुने गस्तीको विषयमा चीनसँग एक सम्झौता भएको जानकारी दिएको हो ।
सोमबार भारतीय विदेश सचिव विक्रम मिस्रीले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार भारत–चीनबीच कूटनीतिक र सैन्य स्तरमा भएको वार्ताको नतिजा हो । यद्यपि यस सम्झौताको विषयमा विस्तृत विवरण सार्वजनिक भइसकेको छैन ।
सोमबार भारतीय विदेशमन्त्री डा. एस जयशंकरले निजी समाचार च्यानल एनडिटिभीको एक कार्यक्रममा तनाव कम गर्नका लागि भारत र चीनबीच भएको वार्तामा सहमति जुटेको र यस सम्बन्धी थप जानकारी आगामी दिनमा सार्वजनिक हुने बताएका छन् । उनले सन् २०२०सम्म भारतले चीनसँग जोडिएको सिमानामा जहाँसम्म सैनिक गस्ती गर्थ्यो, त्यहाँसम्म फेरि गस्ती गर्न पाउने पनि बताएका छन् ।
उनले भनेका छन्, ‘एलसीमा सन् २०२० भन्दा पहिले जस्तो स्थिति थियो त्यो स्थिति बहाल हुने छ । यो एक महत्वपूर्ण घटनाक्रम हो । तर यसको पूरा असर आँकलन गर्न अहिले नै हतार हुन्छ ।’




















प्रतिक्रिया