Logo

टिप्पणी

गलत राजनीतिकर्मी चिन्नुपर्ने सास्तीमा सर्वसाधारण



काठमाडौं । आम सर्वसाधारण अन्यमनस्क स्थितिमा छन् । कसलाई पत्याउने ? कसलाई नपत्याउने ? कुन समाचार ठीक ? कुन बेठीक ? कुन नेता- पार्टी ठीक ? कुन बेठीक ?

खुट्याउन सरल छैन आजको राजनीति । ढाँट, छलकपट र भ्रमै भ्रमको बीचमा सही र गलत राजनीतिकर्मीलाई पर्गेल्नुपर्ने चुनौती सर्वसाधारणलाई छ आज । राजनीति जति व्यावहारिक भयो उति सरल पनि बन्छ ।

यसलाई जस्तो बनायो त्यस्तै बनिदिन्छ । सरल बनाउन खोजे सरल बन्छ जटिल बनाउन खोजे जटिल । इमान र निष्ठाको जनकेन्द्रित राजनीति गर्नेहरूले राजनीतिलाई सहज र सरल बनाउँछन् जस्तो तिनको जीवनशैली हुन्छ । तर अहिले राजनीति यति खराब र अव्यावहारिक बनेको छ कि यसको बयान गरी साध्यै छैन ।

हाम्रो राजनीति किन यति धेरै अव्यावहारिक बन्दैछ त ? यसका कारण छन् र सुल्झाउने तरिकाहरू पनि । तर, हाम्रा राजनीतिज्ञहरूको ध्यान त्यसतर्फ गइरहेको छैन । राजनीतिमा लागेका नयाँ पुराना सबैको ध्यान सिंहदरबारदेखि वडाका पद हत्याउन केन्द्रित भएका छन् ।

अर्थात् सिद्धान्त मरेको छ, पदमोहको जगजगी बढेको छ । हरेकलाई पद चाहिएको छ । पद विनाको राजनीति आजका नेपालीलाई राजनीति नै हो भन्ने लाग्दैन हारोस् कि जितोस्, जनताको सेवा गरेको होस् कि जनतालाई छक्याउने र आफ्नै दुनो मात्र सोझ्याउने काम गरेको किन नहोस् सबैलाई जसरी नि टिकट चाहिएको छ, पदमा पुग्ने जिजीविषा पलाएको छ।

यसले राजनीतिलाई अव्यावहारिक मात्र बनाउँदैन कलुषित र भ्रष्ट पनि बनाउँछ । पैसाको बिटो नबोकी आज नेपालमा कुनै पनि दलका कुनै पनि नेता वा स्वतन्त्र भनी मतदातामाझ स्वाङ पारिरहेका कोही पनि चुनावी मैदानमा जान सक्ने स्थिति छैन ।

पैसा नै पदमा पुग्ने सहारा बनेको छ। पैसा भयो भने जस्ताले पनि पार्टीको टिकट पाउने र चुनाव उठ्न सक्ने परिस्थिति जुन बनेको छ यो लोकतन्त्रका लागि घातकसिद्ध हुँदैछ । हामीले चाहेको र अपनाएको लोकतान्त्रिक राजनीतिका केही मूलभूत विशेषताहरू छन् ।

पदमा रहेर राजनीति गर्नेले हुन् कि पदबाहिर रहेर यसप्रति शुभेच्छा राख्नेहरूले हुन् प्रथमतः राजनीतिक संस्कार भुल्नुहुँदैन । अहिले राजनीतिक संस्कार शून्यतर्फ ओरालो लाग्दैछ । राजनीतिबाट सेवा र संस्कार भन्ने मूल तत्व हराएको छ ।

राजनीति पद, प्रतिष्ठा र पैसाको लागि विना लगानीको उर्वर उद्योगमा परिणत भएको छ । राजनीति किन अव्यावहारिक बन्छ ? संस्थाहरूको क्षयीकरण: जब कनै पनि मुलुकमा स्थापित लोकतान्त्रिक संस्थाहरूमा ह्रास आउँछ तब राजनीति अव्यावहारिक बन्ने क्रम शुरू हुन्छ ।

राजनीतिक दल भन्नुस् कि सरकार यसमा संलग्नहरूले लोकतान्त्रिक संस्थाहरूको साख गिराउनाले नै राजनीति भ्रष्ट बन्न पुग्छ ।

संसद् भन्नुस् कि अदालत अर्थात् अख्तियार भन्नुस् कि निर्वाचन आयोग वा महालेखा परीक्षक सबैले स्वतन्त्र भएर काम गर्न सके मात्र लोकतन्त्रको गरिमा जोगिन्छ ।

जब यी संस्थाहरूले मुलुकको विद्यमान संविधान, ऐन, कानूनको बर्खिलाप कार्यकारीसित साँठगाँठ गर्न थाल्छन् लोकतान्त्रिक राजनीतिको अन्त्य अवश्यंभावी हुन्छ ।

अहिले हाम्रो मुलुकमा उल्लिखित संस्थाहरूले स्वतन्त्र रूपमा निर्णय गर्ने क्षमता राख्छन् त ? यी संस्थाहरू दलविशेष, कार्यकारीविशेष, नेताविशेषको मुख हेरेर आफ्नो फाइदा, बेफाइदाको हिसाबकिताब गरेर मात्र निर्णय गर्दैछन् ।

त्यसैले यहाँ लोकतान्त्रिक संस्थाहरू चाहे सरकारी हुन् कि नागरिक तहमा स्थापित भएका हुन् ती सबै कसै न कसैको कठपुतली बनेका छन् । अपराध र राजनीतिको गठजोड : जब राजनीतिमा अपराधको छायाँ पर्छ तब राजनीति भयाक्रान्त बन्न पुग्छ ।

२०५२ सालयता हाम्रो मुलुकको राजनीतिमा हिंसाको छायाँ मडारिन थाल्यो। चाहे त्यो विद्रोही माओवादी पक्षबाट होस् या राज्य सिर्जित प्रतिरोधात्मक हिंसाका वारदातहरू किन नहोस् ।

संविधानसभा एक र दुई, संविधानसभाबाट संविधान घोषणा पश्चात् सम्पन्न संघीय र प्रादेशिक सभाको निर्वाचनमा अपराध कर्ममा जोडिएकाहरूको प्रवेश र विजयसँगै आज ‘राजनीति हो कि अपराध’ हो भन्ने छुट्याउन नसकी सर्वसाधारणले अन्योलमा पर्नु परेको अवस्था छ ।

विभिन्न पेशामा लागेर राज्यलाई ठगेका र प्रशस्त कालो धन आर्जन गरेकाहरू पनि नेताका वरिपरि पुग्नु, निर्वाचनमा सहभागी हुनु, टिकट खरिद-बिक्रीको ‘दुष्चक्रमा निर्वाचन प्रणाली मनी, मसल र मुस्तण्डेहरूको कब्जामा पुग्नु लोकतान्त्रिक गणतन्त्रको विशेषता जस्तै बन्न पुगेको छ ।

यदि अपराधको छायाँबाट राजनीतिलाई अलग राख्न नसक्ने हो भने लोकतान्त्रिक गणतन्त्रमा ग्रहण लाग्ने निश्चित छ । व्यक्ति हिरो बन्ने होड : लोकतान्त्रिक राजनीतिमा व्यक्तिहरू आउने जाने भइरहन्छ ।

राजनीतिक नेताहरूले एक आवधिक निर्वाचनपछि, अर्को आवधिक निर्वाचनमा जनताबाट अनुमोदित हुनुपर्छ । त्यसो हुन नसके उनीहरूको राजनीतिक यात्र त्यहीं विराम लाग्न पुग्छ ।

त्यो ठाउँमा अर्कै व्यक्ति निर्वाचित भएर आउँछ र जनताको सेवा गर्छ। तर राज्यमा गठित संस्थाहरूले भने निरन्तर पारदर्शी बनेर जनताको सेवा गरिरहेका हुन्छन् । यदि त्यस्ता संस्थाहरूले निष्पक्ष काम गर्न सकेनन् भने बेथिति र भ्रष्टाचारले परै समाजलाई आहत बनाउँछ ।

लोकतान्त्रिक व्यवस्थाभित्रै विभिन्न चण्डमुण्डहरू जन्मिन्छन् । र, तिनले आफूलाई जनताका यावत् समस्याको रामवाण बताउँदै दोष जति अरूका थाप्लामा थोपरेर आफ हिरो बन्ने होडबाजी चल्छ ।

अहिले हाम्रो अवस्था यस्तै छ । यदि नेतृत्वले इमानदार भएर व्याप्त भ्रष्टाचार र बेथिति नियन्त्रण गर्न समयमा ध्यान दिएन भने रोमाञ्चक राजनीतिको मञ्चमा रमाइरहेकाहरूले सजिलै जनतालाई आफूतिर आकर्षित गर्न र आगामी निर्वाचनमा मतदाताको मन जित्न बेर छैन ।

त्यसैले अहिलेको समय भनेको लोकतान्त्रिक गणतन्त्रमा विश्वास गर्ने नेतृत्वले बेलैमा सचेत, सजग र इमानदार भएर प्रस्तुत हुनु हो ।

विगतका आफ्नै अराजनीतिक र अव्यावहारिक गतिविधिका कारण भ्रमित र दूषित बनेको राजनीतिक वातावरण सुधार्ने पहिलो कर्तव्य पनि राजनीतिक दल र तिनका नेतृत्वकै हो । परिणाम: ठूलो संख्यामा भ्रमित मास पैदा भएमा राजनीति अव्यावहारिक र जटिल बन्छ ।

त्यस्तो राजनीतिले लोकतान्त्रिक संस्कार र संस्था दुवैलाई हानि पुऱ्याउँछ । अन्त्यमा लोकतन्त्र नै मासिन सक्छ । अव्यावहारिक राजनीतिले कि त तानाशाह जन्माउँछ कि ‘टेलिजेनिक हिरोहरू ।

अनि तिनले समाजको समस्या पार लगाउनुको सट्टा पीडा थप्ने सिवाय केही गर्दैनन् । २०४८ सालको निर्वाचनका बखत विद्वान् लेखक सीके प्रसाईको एउटा गहन पुस्तक ‘व्यावहारिक राजनीतिको प्रारम्भिक रूपरेखा’ पढेको थिएँ ।

उक्त पुस्तकको थालनीमा लेखिएको छ- ‘राजनीतिमा काम गर्ने हामी कार्यकर्ताहरूले एउटा ठूलो कठिनाइको सामना गर्नु परिरहेको छ र त्यो व्यावहारिक • राजनीति बारेको साहित्यको ठूलो अभाव ।

यस अभावको अनुभव मलाई र मेरा कतिपय साथीहरूलाई हुँदै आएको हो।’ ३३ वर्षअघि सीके प्रसाई र उनका साथीहरूले गरेको व्यावहारिक राजनीति बारेको साहित्यको अभाव आज झनै बढेर गएको छ ।

अहिले चर्को राजनीतिक साहित्यको जमाना हो । यहाँ नम्र, विनयशील र इमानदार राजनीतिक साहित्य दुब्लाउँदै गइरहेछ । मिडियामा जताततै चर्काचर्का राजनीतिका कुरा बोल्ने र लेख्नेहरूको मात्र बजारमा भाउ छ ।

सरल, सौम्य र शिष्ट भाषामा बोलिएका र लेखिएका राजनीतिक यथार्थ झल्कने राजनीतिक साहित्यिक साहित्यप्रति धेरैलाई रुचि छैन ।

जब राजनीतिक साहित्य नै अव्यावहारिक राजनीतिको ‘रेसिपी’ पस्किरहेका छन् भने त्यहाँ व्यावहारिक राजनीतिको खोजी गर्नु भनेको मरुभूमिमा झरनाको चिसो पानी खोजे सरह हुन्छ ।

राजनीतिलाई सरल बनाउने कि जटिल ? अँधेरा कोठाहरूमा रचिने कुटिल चालहरूको गाथा बनाउने कि सफेद, सरल र व्यावहारिक बनाउने कि भ्रष्ट र अव्यावहारिक ? कस्तो राजनीतिक भविष्य निर्माण गर्ने हो ?

राजनीतिक क्षेत्रका प्रत्यक्ष र अप्रत्यक्ष सबै खेलाडीहरू सचेत हुनुपर्ने अवस्था टड्कारो छ । अहिले हामी लोकतान्त्रिक गणतन्त्रको अभ्यास गरिरहेका छौं । स्वरूपमा हामीले संघीय लोकतान्त्रिक गणतन्त्र पाएका छौ ।

राजनीतिक दलहरू वा निर्वाचित प्रतिनिधिहरूको हातमा मुलुकको शासनसत्ता रहेको छ । यस्तो अवस्थामा पनि राजनीति थप भ्रष्ट र अव्यावहारिक बन्दै जानु दुःखद् हो ।

राजनीतिमा सेवाभाव मरेको छ, यसलाई कमाइखाने भाँडोमा रूपान्तरण गरिएको छ । राजनीतिकर्मी, कर्मचारी र बिचौलियाहरूको त्रिकोणात्मक मिलीभगतमा मुलुकको ढुकुटी मनपर्दी गर्नेहरूको हालीमुहाली र दबदवाले समाज आक्रान्त बन्न पुगेको राष्ट्रवाणी साप्ताहिकमा खबर छ ।

किनकि, यी तीनैथरी तत्व संविधान, ऐन, कानुनको छिद्रबाट छिरेर बदमासी गर्न उद्यत रहेकोले सबैभन्दा पहिले संविधान र ऐन, कानुन विपरीत काम गर्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याउन सशक्त लोकतान्त्रिक संस्थाहरू अग्रसर हुनु आवश्यक छ ।

हाम्रो वर्तमान समस्या भ्रष्टाचार नियन्त्रण र सुशासन बहालीको हो न कि व्यवस्था परिवर्तन। तर सुशासन बहाली कसले गर्ने ? अहिले परिस्थिति ‘बिरालोलाई घण्टी झुण्ड्याउने को ?’ भन्ने कथाको जस्तो छ ।

प्रकाशित मिति : मंसिर ७, २०८१ शुक्रबार  ८ : ५६ बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।