Logo

अर्थ

निजी लगानी वृद्धिलाई प्रोत्साहन : अर्थमन्त्री पौडेल



काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी र विदेशी निजी लगानीलाई सरकारले प्रोत्साहन गरिरहेको बताएका छन् ।

थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको समापनमा अध्यक्षका हैसियतले बोल्दै अर्थमन्त्री पौडेलले एसिया र प्रशान्त क्षेत्रमा सार्वजनिक पुँजीले मात्र वित्तीय आवश्यकता पूरा गर्न नसक्ने भएकाले निजी पुँजीको बिस्तार र परिचालनलाई प्रोत्साहन गर्नुपर्ने बताएका हुन् ।

सहुलियतपूर्ण वित्तीय स्रोत परिचालनको माध्यमबाट निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै अर्थमन्त्री पौडेलले विकासका लागि निजी पुँजी परिचालन आवश्यक भएको धारणा व्यक्त गरे । त्यसका लागि एसिया र प्रशान्त क्षेत्रका देशबिच सहकार्य गर्न सकिने अर्थमन्त्री पौडेलको भनाइ थियो ।

एसिया र प्रशान्त क्षेत्रमा वित्तीय पुँजी लगायत धेरै सम्भावनाहरू रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले यस क्षेत्रमा नीति, नियमहरू र दिगो विकास लक्ष्य प्राप्तिका लागि गरिने प्रयासहरूलाई सामूहिक रूपमा अघि बढाउनुपर्ने बताए ।

आन्तरिक राजस्व परिचालन, नवीन वित्तीय उपकरणको उपयोग एवम् परिचालन, सार्वजनिक ऋण व्यवस्थापन, साझेदारी निर्माण र दिगो विकास लक्ष्यका लागि वित्तीय स्रोतको व्यवस्थापन लगायतका विषयमा परामर्श बैठक निकै फलदायी भएको अर्थमन्त्री पौडेलको भनाइ छ ।

अर्थमन्त्री पौडेलले परामर्श बैठकमा विभिन्न देशका मन्त्रीहरू, राजनीतिक नेताहरू, विज्ञ, विकास साझेदार लगायतबाट प्राप्त सुझावले सन् २०२५ मा स्पेनमा हुने विकासका लागि वित्तसम्बन्धी चौथौँ अन्तर्राष्ट्रिय सम्मेलनमा पेस गरिने दस्ताबेजलाई समृद्ध पार्न सहयोग गर्ने धारणा समेत व्यक्त गरे ।

प्रकाशित मिति : ३ पुष २०८१, बुधबार १७:११   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।