Logo

अर्थ

विद्युत प्राधिकरणमा १ हजार ८३ जनालाई खुल्यो रोजगारी



काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा अधिकृत र सहायकस्तर गरी १ हजार ८३ जनालाई रोजगारी खुलेको छ । प्राधिकरणले शुक्रबार विभिन्न समूहका तह ७ देखि १० सम्मका (अधिकृतस्तर) १९५ जना र विभिन्न समूहका ५ तह (सहायकस्तर)मा ८८८ जना खुला/समावेशी प्रतिस्पर्धाबाट स्थायी नियुक्त गर्न विज्ञापन गरेको छ । सबै पदको लिखित परीक्षा लोकसेवा आयोगले लिने छ ।

दरखास्त दिने अन्तिम दिन आगामी पुस २५ गते छ । दोब्बर दस्तुर तिरी माघ ३ गतेसम्म आवेदन दिन सकिने छ । अधिकृतस्तर तह ८ वा त्यसभन्दा माथिका पदका लागि दरखास्त दिने अन्तिम मितिसम्म्मा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र तह ७ को पदमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । तर, महिला र अपाङ्गता भएका उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

सहायक स्तर तह ५ का पदमा १८ वर्ष पूरा भई ३५ ननाघेको हुनुपर्नेछ । महिला र अपाङ्गता भएका उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने छ । प्राधिकरणमा कार्यरत स्थायी कर्मचारीलाई भने उमेरको हद लाग्ने छैन ।

अधिकृतस्तरमा सबैभन्दा बढी अर्थात ६२ जना तह ७ इलेक्ट्रिकल इन्जिनियर माग गरिएको छ । इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तह उत्तीर्णले दरखास्त दिन सक्नेछन् । प्रशासनतर्फ तह ७ प्रशासकीय अधिकृमा ३८ जना माग गरिएको छ । जुनसुकै विषयमा स्नातकोक्त उत्तीर्णले दरखास्त दिन पाउनेछन् ।

तह ७ लेखा अधिकृतमा ३१ जना माग गरिएको छ । वाणिज्यशास्त्र वा व्यापार प्रशासनमा स्नातकोत्तर तह उत्तीर्ण ले दरखास्त दिन पाउनेछन् । प्राविधिकतर्फ तह ७ कम्प्युटर इन्जिनियर २१ जना माग गरिएको छ । कम्प्युटर इन्जिनियरिङमा स्नातक तह उत्तीर्णले आवेदन दिन सक्नेछन् । प्राविधिकतर्फ तह ७ सिभिल इन्जिनियर ९ जना माग गरिएको छ । सिभिल इन्जिनियरिङमा स्नातक तह उत्तीर्णले आवेदन दिन सक्नेछन् ।

प्राधिकरणतर्फ तह ८ सहायक प्रबन्धक इलेक्ट्रिकलका लागि ८ जना माग गरिएको छ । इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातकोत्तर तह उत्तीर्ण र नेपाल सरकार वा संगठित संस्थाको अधिकृतस्तरको पदमा पाँ वर्षको कार्य अनुभव भएकाले आवेदन दिन सक्नेछन् । प्रशासनतर्फ ७ तहमा ८ जना चार्टर्ड एकाउन्टेन्ट माग गरिएको छ ।

प्राविधिकतर्फ तह १० प्रबन्धक इलेक्ट्रिकल समूह, प्रशासनतर्फ तह ८ सहायक निर्देशक, लेखातर्फ ८ तह सहायक निर्देशक १/१ जना माग गरिएको छ । प्राविधिकतर्फ तह ७ सर्भे इन्जिनियर, तह ७ वातावरणविद् र तह ७ जियालोजिस्ट २/२ जना माग गरिएको छ ।

तह ५ मिटर रिडिङ सुपरभाइजर ४१ जना माग गरिएको छ ।

तह ५ लेखापाल ३९ जना माग गरिएको छ ।  तह ५ इलेक्ट्रिकल सुपरभाइजरतर्फ ७४० जना माग गरिएको छ ।

यसका पदका लागि न्यूनतम योग्यता इलेक्ट्रिकल इन्जिनियरिङमा प्रवीणता प्रमाणपत्र तह वा डिप्लोमा उत्तीर्ण वा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट प्रदान गरिएको सम्बन्धित विषयमा तह तीनको सीप परीक्षा उत्तीर्ण भएको हुनुपर्ने तोकिएको छ ।

तह ५ मेकानिकल सुपरभाइजर १९ जना माग गरिएको छ । ५ तह सिभिल सुपरभाइजर ३ जना माग गरिएको छ ।

सर्भे इन्जिनियरिङमा प्रवीणता प्रमाणपत्र तह वा डिप्लोमा उत्तीर्ण वा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट प्रदान गरिएको सम्बन्धित विषयमा तह तीनको सीप परीक्ष उत्तीर्ण भएकाले आवेदन दिन पाउनेछन् ।

अधिकृतस्तरका कर्मचारीले नेपालभर काम गर्नुपर्ने छ भने सहायक स्तरका कर्मचारीले आवेदन फाराम बुझाउने प्रदेशअन्तर्गतका प्राधिकरणका विभिन्न कार्यालयमा काम गर्नुपर्ने छ ।

प्रकाशित मिति : ५ पुष २०८१, शुक्रबार १२:१२   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।