Logo

अर्थ

नेपालमा लगानी गर्न भारतका निजी क्षेत्र र व्यवसायीलाई परराष्ट्रमन्त्री देउवाको आग्रह



नयाँदिल्ली । परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालका विभिन्न क्षेत्रमा लगानी बढाउन भारतका निजी क्षेत्र र व्यवसायीलाई आग्रह गरेकी छन् । उनले सडक, रेलमार्ग, जलविद्युत्, केबल कार, अन्तर्राष्ट्रिय विमानस्थल, कृषि, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरेकी हुन् ।

नयाँ दिल्लीमा आयोजित नेपाल भारत आर्थिक सम्मेलनलाई सम्बोधन गर्दै देउवाले भनिन्, ‘भारत पहिल्यै नेपालमा ठूलो वैदेशिक लगानीकर्ता मध्ये एक हो, हामी भारतीय निजी क्षेत्र र उद्यमीहरुलाई नेपालमा सजिलै उपलब्ध हुने लगानीका अवसरहरुको लाभ उठाउन प्रोत्साहित गर्छौं ।’

नेपालका कृषि, पर्यटन, खेलकुद, सूचना प्रविधि जस्ता क्षेत्रमा लगानी गर्दा उच्च प्रतिफलको सम्भावना रहेको समेत उनले बताएकी छन् ।

उनले नेपालले लुम्बिनी र पोखरामा दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल समेत बनाएको भन्दै यसको पूर्णतः सञ्चालनका लागि सहयोग समेत मागेकी छन् । ‘हामीले यी विमानस्थलहरु उच्च लागतमा निर्माण गरेका छौं र तिनीहरुलाई पूर्णरूपमा सञ्चालनमा ल्याउन हाम्रा नजिकका मित्र र छिमेकीको सहयोग चाहन्छौं’, उनले भनिन्, ‘हामी भारतको निजी हवाई सेवा सञ्चालकबाट यी दुई विमानस्थलमा सेवा सुरु गर्नका लागि सहयोग खोज्दैछौं ।’

उनले नेपालले राजनीतिक रुपमा ऐतिहासिक रुपान्तरण गरेर देशमा शान्ति र लोकतन्त्र संस्थागत गरेको भन्दै अब मुलुकको प्राथमिकता तीब्र सामाजिक र आर्थिक विकास भएको बताइन् । ‘जनतालाई शान्ति र समृद्धि सुनिश्चितता गर्न सकियोस् भनेर हाम्रो अबको प्राथमिकता भनेको सामाजिक र आर्थिक वृद्धिको सुनिश्चिचता गर्नु हो,’ उनले थपिन् ।

परराष्ट्रमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा काठमाडौं भ्रमणमा आउँदा दुई देशबीचको सम्बन्ध कागजको नभइ दिलको भएको बताएको स्मरण गराउँदै उनले भारत र नेपाल अत्यन्तै आत्मीय मित्रहरु भएको बताइन् ।

यस्तोमा भारतले छिमेक पहिले नीति अन्तरगत नेपाललाई प्राथमिकता दिएको भन्दै उनले धन्यवाद समेत दिइन् । परराष्ट्रमन्त्री राणाले दुई देशबीचको सम्बन्धमा कतिपय यस्ता विषय हुने जसमा दुई देशबीच उच्च तहमा हुने औपचारिक संवादका क्रममा कुरा गर्न नसकिने उल्लेख गरिन् ।

 

प्रकाशित मिति : ५ पुष २०८१, शुक्रबार १२:२८   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।