Logo

स्वास्थ्य

चिसोबाट जोगिन के गर्ने ?



तिहारलगत्तै जाडो मौसम प्रारम्भ हुने भएकाले धेरैमा रुघाखोकी लाग्ने, घाँटी दुख्ने, टन्सिल हुने तथा भाइरल ज्वरोले सताउने समस्या देखा पर्छ । त्यसका अतिरिक्त जाडो मौसममा बाथरोग, दम, निमोनियाँ आदि रोगबाट पीडितहरूलाई पनि निकै कष्ट हुन्छ । बाथरोग विशेषज्ञ डा.श्वेता नकर्मीका अनुसार बाथरोगको समस्या जाडो मौसममा बल्झिन्छ । जाडो याममा चिसोका कारण हाडजोर्नी बढी सुन्निने, अररो हुने तथा दुख्ने समस्या सिर्जना हुन्छ । 

यसैगरी यो मौसममा छातीको समस्या तथा भाइरल इन्फेक्सन वृद्धि हुन्छ भने बाथका बिरामीहरूमा पनि विभिन्न कारणले छातीको समस्या देखा पर्न सक्छ । बाथले फोक्सोमा असर गर्दा फोक्सोमा जाली पर्ने अथवा पानी जम्ने वा न्युमुनिटिस हुने हुन्छ । यसैगरी बाथमा प्रयोग हुने औषधीले रोग प्रतिरोधक क्षमता (इम्युनिटी)मा कमी ल्याउने भएकाले चिसोको संक्रमण हुने सम्भावना हुन्छ । 

जाडोको अर्को समस्याका रूपमा र्‍युनड फिनोमेनन पनि देखा पर्छ । यसमा चिसोमा हात अथवा खुट्टाका औंलाहरूको रंग परिर्वतन भएर सेतो, निलो वा पहेंलो हुन्छ । यो लक्षण गर्मीको तुलनामा जाडोमा बढी देखिन्छ र यसलाई नियन्त्रणमा नराखे औंलाको टुप्पोमा घाउ हुने र कुनै समयमा औंला नै मरेर जाने पनि हुन्छ ।

ध्यान दिनुपर्ने कुरा 

  • हातखुट्टाका जोर्नीका साथै पूरै शरीरलाई न्यानो राख्नुपर्छ । 
  • चिसो पानी धेरै चलाउनु हुँदैन । भाडा माझ्दा वा लुगा धुँदा रबरको पन्जा प्रयोग गर्नुपर्छ । 
  • र्‍युनड भए हातलाई मनतातो पानीमा डुबाउने र न्यानो राख्ने । यस्तो अवस्थामा औंलामा घाउ हुन दिनु हुँदैन ।
  • हातखुट्टा र शरीरको छालालाई नरम राख्न मोस्चराइजर, ग्लिसिरिन तथा नरिवलको तेल 

प्रयोग गर्नुपर्छ ।

  • वार्षिक रूपमा इन्फ्लुएन्जाको भ्याक्सिन लगाउनुपर्छ । 
  • इन्फेक्सनबाट जोगिनुपर्छ र फोक्सोसम्बन्धी 

कुनै समस्या देखिए तुरुन्तै चिकित्सकको

परामर्श लिनुपर्छ । 

  • नियमित रूपमा औषधी सेवन गर्नुपर्छ । 

के खाने ? 

  • धेरै चिल्लो तथा मसालेदार खाना खानु हुँदैन । 
  • बढी चिया तथा कफी सेवन गर्नु हुँदैन । 
  • गाउट अथवा युरिक एसिडका बिरामीले रक्सी, बियर, वाइन तथा बोसोयुक्त रातो मासु 

खानु हुँदैन ।

  • हरियो सागपात, फलफूल तथा दूध खानुपर्छ भने पानी प्रशस्त मात्रामा पिउनुपर्छ । 

शारीरिक व्यायाम 

  • चिसो धेरै हुने समयमा बाहिर हिँड्डुल गर्नु हुँदैन । निस्कनैपरे न्याना पहिरन लगाएर मात्र निस्कनुपर्छ । 
  • हल्का व्यायाम गर्नुका साथै नियमित रुपमा ४५ देखि १ घण्टा लम्केर हिँड्नुपर्छ । 
  • .फिट्नेस सेन्टर तथा घरमै पनि शरीर तातो हुने किसिमका शारीरिक अभ्यास गर्नुपर्छ । 
  • .स्पोनडिलो आर्थराइटिसका बिरामीले ढाडको कसरत नियमित रूपमा गर्नुपर्छ । अस्टियोआर्थराइटिसका बिरामीले घुँडा तन्काउने कसरत नियमित गर्नुपर्छ । 
  • . मुटु, दम तथा ब्रोन्काइटिसका बिरामीले चिकित्सकको सल्लाहमा मात्र व्यायाम गर्नु उचित हुन्छ । 

 

प्रकाशित मिति : २३ कार्तिक २०७७, आईतवार २२:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।