Logo

पत्रपत्रिका

मन्त्री भण्डारी र सचिव निरौलाको कारण मन्त्रालय अस्तव्यस्त



श्रम तथा रोजगार सुरक्षामन्त्रालयका कर्मचारीहरुले विदेश भ्रमण गर्ने नेपालीहरुलाई सहजिकरण गर्नुपर्नेमा उल्टै वैदेशिक रोजगार विभाग र मन्त्रालयका कर्मचारी, अध्यागमनका कर्मचारी, श्रम डेक्सका कर्मचारी र प्रहरीको मिलेमतोमा ट्राभल एजेन्सी र मेनपावर कम्पनीहरुमा धाएर सेटिङ मिलाउन थालेका छन् ।

गृहमन्त्रालयका कर्मचारीहरु पनि अध्यागमन कार्यालयमा पुगेपछि भिजिट भिसामा विदेश जाने नेपालीहरु सित सेटिङ मिलाउन थालेका छन् ।

अध्यागमन कार्यालयभित्र कर्मचारीहरुको सेटिङ त्यत्तिकै चलेको छ । श्रमसचिव मुकुन्द निरौला र गृहसचिव गोकर्णमणि दुवाडीले अध्यागमन कार्यालयबाट अवैध रुपमा मानव तस्करी भइरहँदा पनि त्यसको रोकथामको लागि पहल गरेका छैनन् ।

बरु उल्टै श्रम सचिव मुकुन्द निरौलाको कार्यकक्षमा दिनहुँजसो मेला लागेजसरी मेनपावर कम्पनी सञ्चालक र विचौलीयाहरुको भीड लाग्ने र गोप्य कोठामा मिटिङ बसेर नेपालीहरुलाई भिजिटदेखि विभिन्न भिसाको नाममा विदेश पाठउने। धन्दा सञ्चालन गरिराखेका छन् ।

उनीहरुले सो धन्दा मात्रै चलाएका छैनन् श्रमिकको नाममा जम्मा भएको पैसाले विभिन्न गोष्ठी, सेमिनार र भेला गरेर देश दौडामा रमाउने गरेको श्रम मन्त्रालयभित्रकै एक कर्मचारीले नाम नबताउने सर्तमा जानकारी दिएका छन् ।

हुन त सचिव निरौला पहिलादेखि दुधले नुहाएका व्यक्ति भने होइनन् । उनी श्रम सचिव भएर जानको लागि एमाले निकट कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाको जोडबलमा श्रम मन्त्रालय पुग्न सफल भएका हुन् ।

उनी प्रदेश सचिव हुँदा विभिन्न खेलोफड्को गरेर आर्थिक लाभ लिएका थिए । त्योभन्दा अगाडि सहसचिव र उपसचिव हुँदा सधैंजसो आर्थिक लाभ लिन नसक्ने कर्मचारीमा गनिन्थे ।

प्रदेश सचिवबाट उनी उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालयको सचिवको कार्यभार सम्हालेपछि उद्योगी र व्यापारीहरुले भक्तपुरको चारलदोबाटो नजिक घर बनाइदिएको स्रोतको भनाइ छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बस्दा विभिन्न उद्योग सञ्चालन गर्नेदेखि व्यापारीहरुसँग साठगाँठ गरी विभिन्न ठाउँमा उद्योग खोल्न लगाएर त्यहाँबाट आउने कमिसन एक व्यापारीले जम्मा गरेर घर बनाइदिएको समेत उद्योग मन्त्रालयतिर चर्चा चल्ने गर्दछ ।

सरकार फेरिएसँगै उनलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको थियो । उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको हप्तादिन पनि नपुग्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको थियो ।

संघीय मन्त्रालयमा बस्दा पनि स्थानीय निकायको मालदार ठाउँमा कर्मचारी सरुवा गर्दा ठूलो आर्थिक लाभ लिएको कर्मचारीहरुको भनाइ छ ।

निरौलालाई भेट्न प्रायःजसो राजनीतिक दलका कार्यकर्ता र नेताहरुको भीड लाग्ने गर्दछ । उनै नेता र कार्यकर्ताहरुले निरौलालाई बेलुका भएपछि भोजभतेरमा समावेस गराउने र रमाइलो गराउने गर्दछन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले मुकुन्द निरौलालाई रोजेको भनाइ छ । मन्त्री भण्डारी पनि स्वदेश र विदेश घुमघाम गर्न सौखिन हुन् । श्रममन्त्रालयमा यतिबेला मन्त्री भण्डारी र सचिव निरौलाको हर्कत देखेर कर्मचारीहरु तीन छक परेका छन् ।

यिनै मन्त्री र सचिव समयमै उल्लेख्य निर्णय नगर्दा अधिकांश नेपालीहरु विदेशमा अलपत्र पर्न वाध्य भएका छन् । विदेशमा अलपत्र परेका नेपालीहरुलाई उद्दार गर्न भने श्रम सचिव र मन्त्री चुकेका खबर तामाकोशी सन्देशमा उल्लेख छ ।

प्रकाशित मिति : ११ पुष २०८१, बिहीबार ०८:३४   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।