Logo

जनप्रतिनिधि

वरिष्ठलाई पाखा लगाएर कनिष्ठलाई सचिव बनाउँदै सरकार



काठमाडौं । विदेश भ्रमणमा रेकर्ड ब्रेक गरेका एक सहसचिवलाई सरकारले पुरस्कार स्वरुप सचिव बनाएको छ ।

उर्जा मन्त्रालयमा कार्यरत सहसचिव मधुप्रसाद भेटवाललाई बरियता मिचेर सचिव बनाएको हो, ओली सरकारले ।

भेटवाल पछिल्लो ९ महिनाको अवधिमा ८ पटक विदेश भ्रमण गरेको पाइएको हो ।

उनले सन् २०२२ को २९ अगस्टदेखि १ सेप्टेम्बरसम्म भारत, २-४ मे २०२३ मा भारत, ५-८ जुन २०२३ मा नर्वे, २७-३० मार्च २०२३ मा थाइल्यान्ड, १७-१८ फेब्रुअरी २०२३ मा भारत, १७-२२ अक्टोबर २०२३ मा भारत, १०-११ मे २०२३ मा बंगलादेश र पुनः भारतको भ्रमण गरेका छन् ।

खर्च नै नगरी विदेश भ्रमण गर्न पाइने र थप दैनिक भ्रमण भत्ता पनि अमेरिकी डलरमा आम्दानी हुने लोभले कर्मचारीहरू विदेश भ्रमणका लागि मरिहत्ते गर्ने नै भए ।

विशिष्ट श्रेणीका कर्मचारीले २२५ अमेरिकी डलर, सहसचिवले १७५ अमेरिकी डलर, उपसचिवले १५० अमेरिकी डलर, शाखा अधिकृतले १२५ अमेरिकी डलर र नायब सुब्बाले १ सय अमेरिकी डलर दैनिक भत्ता पाउने गर्छन् ।

यसरी वैदेशिक भ्रमणका लागि मरिहत्ते गर्ने उनै भेटवाल बरियता मिचेर सचिवमा उक्लिएका हुन । प्राविधिक सेवाको कर्मचारी बढुवा गर्दा प्रक्रिया मिचेर सरकारले सचिवमा बढुवा गरेको छ ।

यस अघि अवकाशको मुखमा रहेका डा. रामप्रसाद घिमिरेलाई दुई साताको लागि सचिव बनाएकै शैलीमा फेरि मधुप्रसाद भेटवाललाई सचिव बनाइएको छ ।

यसरी बढुवा गरिंदा चरम अन्यायमा परेका छन्, दिनानाथ मिश्र, उनी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा प्राविधिक सचिवका रुपमा कार्यरत छन् ।

यस अघि सचिव बढुवा भएर घर फर्किएका रामप्रसाद घिमिरे खानी तथा चुनढुंगा दोहन प्रकरणमा भ्रष्टाचार मुद्दा लागेर सफाइ पाएका व्यक्ति हुन । उनैलाई बरियता मिचेर ओली सरकारले पुरस्कृत गरेको थियो ।

अहिले फेरि बूढीगण्डकी, पञ्चेश्वर जलविद्युत परियोजनामा पसेर कुस्त कमाएका भेटवाललाई प्रक्रिया मिचेर सचिव बनाइएको हो ।

लोकसेवा अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले प्राविधि सचिव बढ़वाका लागि पहिलो नम्बरमा सहसचिव मिश्र, दोस्रोमा भेटुवाल र तेस्रोमा चिरञ्जीवी चटौतको नाम सिफारिस गरेको थिए।

तर, सरकारले पहिलो नम्बरमा सिफारिस भएका मिश्रलाई अन्याय गर्दै दोस्रो नम्बरमा सिफारिस भएका भेटुवाललाई सचिवमा बढुवा गर्दा मिश्र अन्यायमा परेका छन् ।

अब उनी झण्डै पाँच महिना ढिलो गरीमात्र सचिवमा बढुवा हुनेछन् । ०८२ जेठ ५ मा भेट्वाल अवकाशमा गएसँगै बल्ल मिश्र सचिवमा उक्लन पाउनेछन् । उसो त सचिव बढुवा गर्दा कर्मचारीको अनुहार हेरेर गर्ने पुरानै परिपाटी हो ।

यस अघि उनै ओली प्रधानमन्त्री हुँदा अहिलेका गृह सचिव गोकर्णमणि दुवाडीको नाम पाँच पटकसम्म बढुवा सिफारिस हुँदा सचिव बनाइएको थिएन ।

सरकारले प्रशासकहरुलाई पोस्नकै लागि कसैलाई एक दिन, कसैलाई चार दिन त कोहीलाई साता, दुई साताको लागि सचिव बनाउँदै आएको छ ।

जस्तो : अहिले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष रहेका महाश्रम शर्मालाई अवकाश कै दिन सचिवमा बढुवा गरिएको थियो ।

यस्तै अर्थ मन्त्रालयका सहसचिव सूर्य आर्चायलाई पनि अवकाशको ३ दिन अगाडि सचिव बढुवा गर्ने निर्णय गरिएको थियो ।

अवकाशको ४ दिन अगाडि शंकरप्रसाद खरेललाई पनि बरियता मिचेर सचिव बनाइएको थियो।

सचिव बढुवाको सिफारिसमा तेस्रो नम्बरमा रहेका खरेललाई ४ दिने सचिव बनाउने शुक्रबार मन्त्रिपरिषद्को बैठक बोलाएर बढुवा गर्ने निर्णय गरिएको खबर तामाकोशी सन्देशमा छ ।

राष्ट्रपति रामचन्द्र पौडेल निकट ४ दिने सचिव खरेल अहिले निर्वाचन आयोगको आयुक्त वा दिनेशकुमार थपलियापछिको प्रमुख निर्वाचन आयुक्त भएर जाने खेलोमेलोमा छन् ।

यस्तै श्री आचार्यले पनि बरियता मिचेर १ हप्ते सचिव बनाएको थियो सरकारले ।

अहिले लोक सेवा आयोगको सदस्य रहेका वीरबहादुर राईलाई पनि बरियता मिचेर ३ हप्ते सचिव बनाईएको थियो ।

बरियता मिचेर केही दिने सचिव बनाउने यो विकृत प्रवृत्तिले अहिले पनि निरन्तरता पाएको छ ।

त्यसको लाभ लिनेको सूचीमा थपिएका छन्, मधु प्रसाद भेटवाल, रामप्रसाद घिमिरेहरु ।

प्रकाशित मिति : पुष १९, २०८१ शुक्रबार  ८ : ३६ बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।