Logo

समाचार

ताप्लेजुङमा प्रहरी दमन राेकिएन, माेर्चाका नेता पक्राउ



काठमाडौं । पाथीभरा केवलकार परियोजनाको विरोधमा जारी आन्दोलनमा प्रहरी दमन रोकिएको छैन। आन्दोलनलाई दबाउन प्रहरीले बल प्रयोग गर्नुका साथै आन्दोलनकारीका नेताहरूलाई पक्राउ गर्न थालेको छ।

मंगलबार, ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा बन्द गराउँदै हिँडिरहेका पहिचानवादी मोर्चाका जिल्ला संयोजक ५२ वर्षीय प्रदीप मादेनलाई प्रहरीले पक्राउ गरेको छ। मादेन पाथीभरा केवलकारको विरोधमा चलेको आन्दोलनका मुख्य नेतृत्वकर्ता मानिन्छन्।

सोमबार, पाथीभरा क्षेत्रको बलुडाँडामा परियोजनाविरोधी प्रदर्शनमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो। प्रहरीको अश्रुग्यास र गोली प्रहारबाट तीनजना गम्भीर घाइते भएका छन्। आन्दोलनकारीले केवलकार परियोजनाले धार्मिक क्षेत्रको पहिचानलाई धूमिल बनाउने र पर्यावरणमा नकारात्मक प्रभाव पार्ने भन्दै परियोजना स्थगित गर्न माग गरिरहेका छन्।

प्रहरी दमनको विरोधमा आन्दोलनकारीहरूले ताप्लेजुङ र प्रवेश नाकामा अनिश्चितकालीन बन्द घोषणा गरेका छन्। यसले ताप्लेजुङको जनजीवन थप प्रभावित भएको छ। सुरक्षा निकायले स्थिति नियन्त्रणमा लिन प्रयासरत रहेको भए पनि दुवै पक्षबीचको विवादका कारण ताप्लेजुङमा अवस्था झन् जटिल बनेको छ। प्रहरी र आन्दोलनकारीबीचको मतभेद समाधान गर्न सहमतिको प्रयास आवश्यक देखिएको छ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलवार १५:२७   :  बजे

153
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।