विराटनगर । कोशी प्रदेश सरकारले गठन गरेको वार्ता टोलीले पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको छ। मंगलबार बसेको बैठकले प्रदेशमा आन्दोलनरत विभिन्न पक्षलाई संवादको लागि आह्वान गरेको हो । यस कदमले पहिचान पक्षधरको असन्तुष्टिलाई समाधान गर्ने उद्देश्य लिएको छ ।
शनिबार ताप्लेजुङको पाथिभरा क्षेत्रमा प्रहरी र केबलकार विरोधी पहिचान पक्षधरबीच झडप भएको थियो। यस झडपमा प्रहरीको गोली लागेर २ सहित तीन जना गम्भीर घाइते भएका थिए, जसका कारण उनीहरूलाई उपचारका लागि शिक्षण अस्पताल काठमाडौं पठाइएको छ। झडपमा २१ जना प्रहरी घाइते भएका छन्। यस घटनापछि प्रदेश सभाको बैठकमा सांसदहरूले तत्काल विवाद समाधानका लागि वार्ताको आग्रह गरेका थिए ।
ताप्लेजुङ पाथिभरा क्षेत्रमा केवलकार निर्माणको काम अगाडि बढिरहेको सन्दर्भमा केवलकार निर्माणमा असन्तुष्टि जनाउने पक्षहरुसँग वार्ताको माध्यमबाट विवाद समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेकाले वार्तामा आउन आह्वान गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।
प्रदेश सरकारले गत मंसिर २४ गते मन्त्री आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाको संयोजकत्वमा भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राई, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमल थापासहितको टोली बनाएको थियो ।




















प्रतिक्रिया