काठमाडौं । नेपाल प्रहरीको ३१ औं महानिरीक्षक (आईजीपी) नियुक्तिका लागि सरकारले गृहकार्य सुरु गरेको छ । स्रोतका अनुसार गृह मन्त्रालयले यस विषयमा अनौपचारिक छलफल थालेको छ ।
आईजीपी बसन्तबहादुर कुँवरको अवकाश मिति नजिकिँदै गर्दा छलफल सुरु भएको हो । यसपटक विगतमा जस्तो अन्तिम दिनमा नभई रिक्त हुनुभन्दा केही दिनअघि नै नयाँ आईजीपी नियुक्त हुने गृह मन्त्रालयका एक उच्च अधिकारी बताउँछन् ।
आईजीपी कुँवरले ५ चैतदेखि अवकाश पाउँदैछन् । नयाँ आईजीपी नियुक्त गरेर सकेसम्म छिटो आफुलाई बिदामा बस्ने वातावरण मिलाउन उनले भनेका छन् ।
नेपाली सेनामा प्रधानसेनापति एक महिनाअघि नै बिदामा बस्ने चलन छ । तर, प्रहरी महानिरीक्षकले भने एक दिन पनि बिदामा बस्न पाउने गरेका छैनन् ।
यसपटक दुई ठूला नेपाली कांग्रेस र नेकपा एमाले दलको सरकार भएकाले नियुक्तिमा ठूलो टसल हुने सम्भावना नरहेको स्रोत बताउँछ । ३१ औं आईजीपीको प्रतिस्पर्धामा तीन एआईजी छन् ।
जसमा दिपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ छन् । नेपाल प्रहरीको ३१ औं महानिरीक्षक नियुक्तिका लागि गृहकार्य सुरु भई रहँदा थापाको सम्भाबना बलियो रहेको छ । प्रतिस्पर्धाको रेसमा थापा अगाडि रहेकाले उनै आईजीपी बन्ने चर्चा राजनीतिक वृतमा चुलिएको छ ।
थापा अन्य दुईभन्दा अगाडि नै एआईजीमा बढुवा भएकाले उनी नै मुख्य दाबेदार देखिएका छन् । प्रहरीको आईजीपीका सम्बन्धमा बिगतमा गरेको गलत निर्णयबाट शिक्षा लिएर कांग्रेस र एमाले गठबन्धन सरकारले आम नागरिकमा गलत निर्णयको भाष्य परिवर्तन गर्ने सुरमा रहेकाले पनि थापालाईनै अघि सार्ने तैयारी रहेको समाचार स्रोतले जनाएको छ ।
सबै पार्टीसँगको निकट सम्बन्धका कारण थापालाई मुख्य दाबेदार मानिएको हो। यद्यपी गिरी र तामाङले पनि पछिल्लो समय आफ्नो सक्रियता बढाएका छन् ।
गिरी कांग्रेस नेताहरुको घर धाउन थालेका छन् । तामाङले पनि कांग्रेसका नेता सहित जनजाती नेताहरुसँगको भेटघाट बढाएको स्रोत बताउँछ । अबका करिब तीन साता भित्र मुलुकले नयाँ आईजीपी पाउने छ । प्रहरीमा गुटबन्दी बढ्ने स्थितिलाई पन्छाउन पनि थापानै उपयुक्त उमेद्वार हुन् ।
आईजीपीको दाबी गर्ने तीनैजना पछिल्लो कार्यक्षमतामा सबै अब्बल देखिएका छन् । खासै ठूलो विवादमा नआएका र तीनैजना आफ्नो कार्य क्षेत्रमा अब्बल नै रहेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख दीपक थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी)का प्रमुख सुदीप गिरी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख टेकबहादुर तामाङ प्रतिस्पर्धामा छन् ।
आईजीपीको प्रतिस्पर्धामा रहेका तीनै जना हालका आईजीपी कुँवरकै ब्याचको वैकल्पिक टोलीका रुपमा ११ भदौ २०५२ मा प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका उनीहरू अहिले एआईजीमा कार्यरत छन् ।
अब नयाँ प्रहरीप्रमुख को बन्ने भन्ने वर्तमान सरकारको हातमा छ । तर अहिलेसम्मको परम्परा हेर्दा जो सिनियर छ उसैलाई प्रमुखको जिम्मेवारी दिँदा विवादरहित हुँदै आएको छ ।
एउटै ब्याजबाट प्रहरी सेवामा प्रवेश गरेको भए पनि प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी), डिआईजी र एआईजी बढुवामा अगाडि रहेका कारण योपटक आईजीपी रेसमा थापा निर्विकल्प दाबेदारका रूपमा देखिएका छन् ।
एआईजी थापा फिल्ड कमाण्ड र अपरेसनमा अनुभवी अधिकृतको रुपमा चिनिन्छन् । अहिलेसम्म पाएका जिम्मेवारीमा सफल रहँदै आएका थापा अन्य प्रहरी अधिकृतको तुलनामा स्वच्छ छवीका मानिन्छन् ।
सबैलाई समेट्न सक्ने क्षमता भएका थापा विगतका आईजीपीहरु भन्दा सहज ढंगले नेतृत्वमा पुग्ने चर्चा गरिएको छ । प्रतिस्पर्धीहरुमध्ये थापालाई नै भावी आईजीपीका रुपमा हेरिएको छ । त्यस्तै एआईजी गिरी पनि संगठनमा व्यवसायीक प्रहरी अधिकृत हुन् । उनी पनि अहिलेसम्म कुनै ठुलो विवादमा फसेका छैनन् ।
आईजीपी बढुवाका प्रतिस्पर्धी गिरी भने लामो समय विशेष ब्यूरोमा बसेर काम गरेका अधिकृत हुन् । आतंकवाद तथा विशेष प्रकृतिका घटनाहरूको अनुसन्धान गर्ने विशेष ब्यूरोको लामो अनुभव गिरीसँग छ ।
त्यस्तै आईजीपीको दौडमा रहेका अहिले काठमाडौं उपत्यकाका तीन जिल्लाको कमान्ड हेर्ने काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीको कमान्ड गरिरहेका तामाङ पनि विवादरहित प्रहरी अधिकृत हुन् ।
प्रहरी एकेडेमी र अख्तियारका अनुभवी अधिकृतका रुपमा चिनिएका तामाङ इमान्दार छवि भएका अधिकृत हुन् । स्वच्छ छवि भएका तामाङको पनि आईजीपी बन्ने सम्भावना कायमै छ ।
आईजीपी बढुवाको सम्पूर्ण अधिकार प्रहरी नियमावलीले नेपाल सरकारलाई दिएको छ । वरीयताक्रम तथा कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता, तालिमका आधारमा एक जना आईजीपीमा बढुवा हुने व्यवस्था रहेको छ ।
प्रहरी ऐन, २०१२ को दफा ९ (१) मा राजपत्राङ्कित प्रहरी अधिकृतको नियुक्ति र बढुवा नेपाल सरकारबाट हुने व्यवस्था छ भने प्रहरी नियमावली, २०७१ को नियम ४१ मा आईजीपी पदमा बढुवासम्बन्धी व्यवस्था गरेको छ ।
जसअनुसार आईजीपी पदमा बढुवा गर्दा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूमध्येबाट र एआईजीहरू नभएको अवस्थामा प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूमध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्नसक्ने क्षमता, नेतृत्व प्रदान गर्नसक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्नसक्ने सामथ्र्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई आईजीपी पदमा बढुवा गर्नेछ भन्ने व्यवस्था गरेको छ ।




















प्रतिक्रिया