बुटवल । रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा विपक्षी दल निकट विद्यार्थी संगठनहरूले स्ववियु निर्वाचनको विषयलाई लिएर क्याम्पसमा तोडफोड गरेका छन् ।
विभिन्न माग राखेर निर्वाचन आयोगको कार्यकक्षमा आइतबार तालाबन्दी गरेका विद्यार्थी संगठनले माग पूरा नगरी निर्वाचन प्रक्रिया सुरु गरेको भन्दै सोमबार क्याम्पसको हलमा तोडफोड गरेका हुन् ।
आगामी ५ चैतमा हुने स्ववियु चुनावका लागि तीन बजेसम्म विद्यार्थी संगठन दर्ताको समय देशव्यापी रूपमा तोकिएको थियो ।
निर्वाचन तालिका अनुसार निर्वाचन आयोगले आफ्नो प्रक्रिया अगाडि बढाउनका निम्ति विद्यार्थी संगठनहरूसँग बैठक बसिरहेका बेला अन्य संगठनले दर्ता गर्न माग गरिरहेका थिए ।
विद्यार्थीहरूको तोडफोडले केही कुर्सी भाँचिएका छन् । विद्यार्थीहरूले क्याम्पस प्राङ्गणमा टायर बालेर विरोध समेत जनाएका छन् । विपक्षी विद्यार्थी संगठनहरुले क्याम्पसमा प्रथम वर्षको भर्ना खोल्न माग गर्दै आए पनि त्यो नगरेर निर्वाचनको प्रक्रियामा गएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए ।
चुनावको विषयलाई लिएर विद्यार्थीहरू तोडफोडमै उत्रिएपछि क्याम्पसले स्ववियु निर्वाचन कार्यक्रम स्थगित गरेको छ ।
क्याम्पसमा सोमबार भएको घटनापछि विज्ञप्ति जारी गर्दै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रयोजनका लागि पूर्व प्रकाशित निर्वाचन तालिका अनुसार सम्पूर्ण कार्यक्रम अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थागित गरिएको निर्वाचन अधिकृत गणेशप्रसाद पाण्डेयले बताए ।




















प्रतिक्रिया