Logo

पत्रपत्रिका

प्रसाईँको हर्कत, राजावादीको प्रदर्शन र भारतीय मिडिया



काठमाडौं । चैत १५ गते राजावादी र गणतन्त्रवादीले गरेको विरोध प्रदर्शनमा गणतन्त्रवादीहरु भद्र र सभ्य देखिएका थिए भने राजावादीको नाममा दुर्गा प्रसाईंँले नेतृत्व गरेको समूहले उग्र रुप लिएको थियो ।

नेता र कार्यकर्ता बिनाको राजावादीको अराजक भीडले तीनकुनेमा हिंसात्मक गतिविधि प्रदर्शन गरेको थियो । दुर्गा प्रसार्ईँले आन्दोलनको कमाण्ड गर्न नसक्दा प्रदर्शनकारीहरु हिंसामा उत्रिएका थिए ।

आन्दोलन हिंसामा परिणत भएपछि विभिन्न व्यक्तिको घरमा आगजनी गर्नुका साथै तोडफोड हुँदा एभीन्यूज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजक र कीर्तिपुरका एकजना सर्वसाधारणको ज्यानसमेत गुम्न पुगेको थियो । त्यो घटनामा १२९ जना घाइते भएका थिए त्यसमध्ये १३ जनाको अप्रेसन गर्नुपरेको थियो ।

अझै १८ जनाको अस्पतालमा उपचार भइरहेको छ । त्योसँगै प्रदर्शनकारीहरुले विभिन्न गाडी, घर, पसल र राजनीतिक पार्टीका कार्यालयदेखि नेताका निवासमा समेत आक्रमण गर्ने प्रयास गरेका थिए ।

आन्दोलनकारी हिंसा र लुटपाटमा उत्रिए तापनि सुरक्षाकर्मीले भने संमेमता अपनाएर भिडलाई नियन्त्रणमा लिन कर्फूसमेत लगाउनु परेको थियो । यदि सुरक्षाकर्मीले पनि आन्दोलनकारीले जस्तै लाठी चार्ज र धरपकड गरेको थियो भने धन, जनको ठूलो क्षति हुने थियो ।

सरकारले पनि बिना नेतृत्वको अराजक समूहलाई एयरपोर्ट आसपास रहेको तीनकुने जस्तो सुरक्षा संवेदनशील क्षेत्रमा विरोध कार्यक्रम गर्न दिनु उचित थिएन । यो घटनाले गर्दा आगामी दिनमा उक्त ठाउँमा विरोध प्रदर्शन, आमसभा, धर्ना जस्ता कार्यक्रमहरु गर्न दिनु उचित छैन ।

त्यसदिन आन्दोलनकारीले जस्तै सुरक्षा निकायले पनि दोहोरो भिडन्त गरेको भए आन्दोलनले उग्र रुप लिएर सिनामंगलको पेट्रोल पम्पमासमेत आगजनी हुने खतरा थियो ।

उता, आन्दोलनकारीहरुले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड गर्नुका साथै नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडामा आक्रमण गर्न खोज्दा सुरक्षा निकायले तितरवितर बनाएको थियो ।

त्यसपछि आक्रमणकारीले एकीकृत समाजवादीका नेता माधव नेपालको घरलाई निसाना बनाउनुका साथै एमाले पार्टी कार्यालयमा आक्रणम गर्ने योजना बनाएका थिए । त्यसपछि सरकारले सुरक्षा व्यवस्था कडा बनाएको थियो ।

त्यसैगरी एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा पनि सुरक्षा व्यवस्था कडा गरिएको थियो । ओली निवास एरिया बालकोट छिर्ने गौडागौडामा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो ।

यता तीनकुनेमा पत्रकारसहित दुई जनाको मृत्यु हुनुका साथै सयौं घाइते हुनुका साथै जताततै तोडफोड, लुटपाट र आगजनीको घटना भएपछि सरकार असुरक्षा महसुस गरी बेलुका ४ः३० बजेदेखि भोलिपल्ट बिहान ७ बजेसम्म त्यसक्षेत्रमा कर्फू लगाएको थियो ।

भारतीय मिडियाको इसारा र राजावादीहरुको सल्वलाहट !

भारतीय मिडियाहरुले नेपालमा राजसंस्था र हिन्दू राज्य कायम गर्ने प्रचार व्यापक रुपमा गरिरहेका छन् । तर, नेपालका मिडियाहरुले भने त्यो विषय उठान गरेको पाइँदैन ।

भारतीय मिडियाहरुकै आडमा नेपालका राजावादीहरु विभिन्न गतिविधि गरेर सलबलाउन थालेका छन् । चैत १५ गते काठमाडौं तीनकुनेमा भएको घटनालाई पनि भारतीय मिडियाहरुले चासोका साथ उठान गरेका छन् । गैरराजनीतिक पृष्ठभूमिका विवादित व्यक्ति मेडिकल माफिया दुर्गा प्रसाईँलाई तिनै भारतीय मिडियाहरुको बहकाउमा लागेर हिंसात्मक गतिविधि गर्न थालेका छन् ।

प्रसाईंँलाई पनि तिनै भारतीय मिडिहरुले उक्साउने काम गरिरहेका छन् । त्यसकै आडमा दुर्गा प्रसाईँले राजावादीको नाममा आन्दोलन गरेका थिए । दूर्गा प्रसाईले कमान्ड गरेको तीनकुने आन्दोलनले आफू मात्रै बद्नाम भएनन् विस्तारै लोकप्रिय बन्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाहकै बद्नाम गराएर छाडे । प्रसाईँकै कारण सरकारले राजा ज्ञानेन्द्रलाई दिँदै आएको सेवा सुविधा पनि कटौती गरेको छ ।

त्योसँगै काठमाडौं महानगरपालिकाले घटनाको जरिवना तिराउने निर्णय गरेको छ । एकातिर राजाको नाममा राजावादीहरुले आन्दोलन गरिरहने अर्कोतिर गणतन्त्रवादीहरुले त्यसको विरोध गरिरहने धन्दा फस्टाएको छ । तर, न राजावादीको आन्दोलनले राजालाई फर्काउन सक्छन् न त गणतन्त्रवादीको आन्दोलनले देश विकास हुन्छ । यी दुवै बेमौसमी बाजा जस्तै बन्न पुगेका छन् ।

भारतीय मिडियाहरुले प्रचार गरेकै भरमा नेपालमा राजसंस्था र हिन्दू राज्य कायम हुने छाँट देखिँदैन । राजसंस्थासहित हिन्दू राज्य कायम गर्नको लागि नेपालको संविधान नै परिवर्तन गर्नुपर्छ ।

केही छिमिकी मुलुकका मिडिया र नेपालका राजावादीले हल्ला गर्दैमा नेपालमा राजसंस्था र हिन्दू राज्य स्थापना हुने देखिँदैन । राजसंस्थासहितको हिन्दू राज्य कायम गराउन नेपाली कांग्रेस, नेकपा एमाले लगायत ठूला दल र नेपाली मिडिया नै लाग्नुपर्ने हुन्छ । त्यसो त कांग्रेस भित्र दर्जन बढि केन्द्रिय नेताहरुनै हिन्दु राष्ट्र नेपालको पक्षमा उभिएको बताउनु हुन्छ,पूर्वमन्त्री एवं नेता दिनबन्धु अर्याल ।

एमाले लगायतका वाम पार्टीहरुले हिन्दु राष्ट्रको एजेण्डा नबोक्ने चरित्र भएकाले कांग्रेसले नै उक्त एजेण्डा अघि सार्ने न्यूज अभियान डट कम प्रतिनिधिसंगको कुराकानीमा अर्यालले बताए ।

२०८० फागुनको पहिलो हप्ता ललितपुरको गोदावरीमा सम्पन्न नेपाली कांग्रेस महासमितिको बैठकमा हिन्दू राष्ट्र पुनर्स्थापना पक्षधरहरुको हस्ताक्षर संकलन भएको थियो ।

‘सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियान’का संयोजक शंकर भण्डारी सहित २२ जना केन्द्रीय सदस्यले केन्द्रीय समिति बैठकमै हिन्दू राष्ट्र पुनर्स्थापनाको एजेण्डामाथि छलफलको माग गरेका थिए ।

त्यसकारण पनि उक्त एजेण्डाको जनमत बलियो देखिएको बताउछन् पत्रकार छायाचन्द्र भण्डारी ।त्यसो त भारतीय मिडिया र नेपालका केही युटुबरको रहरले नेपालमा राजसंस्थासहितको हिन्दू राज्य कायम हुने नदेखिँएको खबर तामाकोसी सन्देशमा उल्लेख छ ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आईतवार २२:२७   :  बजे

261
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।