काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले पछिल्लो त्रैमासिक वित्तीय नतिजासँगै आफ्नो समग्र वित्तीय स्वास्थ्यमा उल्लेखनीय सुधार गर्दै लगेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले २४ करोड रुपैयाँभन्दा बढी वितरणयोग्य मुनाफा आर्जन गर्न सफल भएको छ । चौथो त्रैमाससम्म कायम रहेमा बैंकले करिब ९.०१ प्रतिशतको लाभांश वितरण गर्न सक्ने विश्लेषण गरिएको छ ।
बैंकको समीक्षा अवधिसम्मको खुद मुनाफा ४३ करोड ४२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यस्तो मुनाफा २६ करोड ९३ लाखमा सीमित थियो । अघिल्लो वर्ष ३८ करोड ६८ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा बढेर ६२ करोड १८ लाख रुपैयाँमा पुगेको छ ।
यसरी सञ्चालन मुनाफा चालु आर्थिक वर्षको गत त्रैमासको तुलनामा ११९.५४ प्रतिशत र गत आर्थिक बर्षको चैत मसान्तको तुलनामा ६०.७४ प्रतिशतले बढी हो । खुद मुनाफा चालु आर्थिक बर्षको गत त्रैमासको तुलनामा १२०.९१ प्रतिशतले र गत आर्थिक बर्षको तेस्रो त्रैमासको तुलनामा ६१.९ प्रतिशतले धेरै हो ।
सम्भावित कर्जा नोक्सानीका लागि छुट्याइने रकम (इम्पेयरमेन्ट चार्ज) ४० करोडबाट घटेर २५ करोड ५६ लाखमा सीमित हुँदा मुनाफामा थप वृद्धि भएको देखिन्छ ।
नाफामा सुधार भएसँगै वार्षिकीकृत प्रतिसेयर आम्दानी अघिल्लो वर्षको यही अवधिसम्म १० रुपैयाँ ४७ पैसामा सीमित इपीएस बढेर १६ रुपैयाँ २८ पैसाको उचाईमा पुगेको छ । समीक्षा अवधिमा बैंकको रिटर्न अन इक्विटी १० दशमलव ९३ प्रतिशत पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिमा ७ दशमलव ७६ प्रतिशत थियो ।
बैंकले खराब कर्जा पनि क्रमशः घटाउँदै लगेको देखिन्छ । चालु आर्थिक वर्षको गत त्रैमासमा ४.९९ प्रतिशतमा रहेको बैंकको खराब कर्जा अनुपात तेस्रो त्रैमासमा ४.९७ प्रतिशतमा झरेको छ । यो राम्रो संकेत हो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ५६ अर्ब ६१ करोड कुल निक्षेप संकलन गरेको छ जुन गत आर्थिक वर्षको तुलनामा १.८४ प्रतिशतले बढी हो ।
यस्तै बैंकले तेस्रो त्रैमासमा ४६ अर्ब ८९ करोड ऋण लगानी गरेको छ जुन गत आर्थिक बर्षको तुलनामा ४.२३ प्रतिशतले बढी हो । बैंकको जगेडा कोष बृद्धि भएर १ अर्ब ८६ करोड ९३ लाख ३ हजार ३३ रुपैयाँभन्दा बढी पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ रु. १५२.५६, पीई रेसियो २४.५१ गुणा, तरलता अनुपात २४.८१ प्रतिशत, सम्पत्तिमा प्रतिफल ०.९१ प्रतिशत, आधार दर ७.४५ प्रतिशत कायम भएको छ ।




















प्रतिक्रिया