Logo

अर्थ

नेपाल राष्ट्र बैंकद्वारा पाँच वित्तीय संस्थामाथि कारबाही



काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय मापदण्डको उल्लंघन गरेका पाँच वित्तीय संस्थामाथि कारबाही गरेको छ । कारबाहीमा पर्ने संस्थाहरूमा मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, पोखरा फाइनान्स र जानकी फाइनान्स कम्पनी रहेका छन् ।

राष्ट्र बैंकको स्थलगत निरीक्षणका क्रममा विभिन्न अनियमितता फेला परेपछि सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूलाई कारबाही गरिएको हो ।

मुक्तिनाथ विकास बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले भवन निर्माण समितिको संयोजकका रूपमा संलग्न रहेको पाइएपछि उनलाई चेतावनी दिइएको छ । बैंकको एकीकृत निर्देशन अनुसार सञ्चालक समितिका अध्यक्ष अन्य कुनै आन्तरिक समितिमा संलग्न हुन नपाउने व्यवस्था छ ।

त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकले २०७७ साउन २१ मा समस्याग्रस्त संस्थाको सूचीबाट हटाउँदा लिएको सर्त अनुसार चुक्ता पूँजी वृद्धि नगरेको, एकल ग्राहक कर्जा सीमा नाघेको तथा सर्वसाधारणबाट अत्यधिक निक्षेप संकलन गरेको पाइएपछि लिखित निर्देशन दिइएको छ । २०८२ असार मसान्तसम्म न्यूनतम चुक्ता पूँजी र पूँजीकोष अनुपात कायम गर्न भनिएको छ ।

सालपा विकास बैंकले ‘ख’ वर्गको न्यूनतम चुक्ता पूँजी नपुर्याएको र यससम्बन्धी अघिल्लो निर्देशनहरूको पालना नगरेको पाइएको छ । त्यसैले बैंकका सञ्चालक समितिलाई नसिहत दिइएको राष्ट्र बैंकले जनाएको छ ।

पोखरा फाइनान्सले आवश्यक मौज्दात रकम कायम नगरेको पाइएपछि ४६,७१८ रुपैयाँ जरिवाना गरिएको छ । साथै, प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जिम्मेवारी नपुर्याएको भन्दै उनलाई ५ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

जानकी फाइनान्स कम्पनीले मंसिर मसान्तमा संस्थाले न्यूनतम पुँजीकोष अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

 

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार १४:१२   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।