काठमाडौं । स्वास्थ्य सेवा र डिजिटल प्रविधिमा नवीनतम उपलब्धि हासिल गर्दै, साइबरनेटिक्स र ग्राण्डी इन्टरनेशनल अस्पतालबीच आज एक समझदारी पत्र (MOU)मा हस्ताक्षर भएको छ । यस सम्झौताले विशेषगरी विदेशमा बसोबास गर्ने नेपालीहरूले नेपालमा रहेका आफ्ना आमाबुबा तथा परिवारका सदस्यलाई अनलाइनमार्फत स्वास्थ्य सेवा उपलब्ध गराउन सक्नेछन् ।
सम्झौताअनुसार, दुबै संस्थाले मिलेर ‘हेल्थी हेल्थ प्याकेज’ सार्वजनिक गर्ने निर्णय गरेका छन् । यस प्याकेज अन्तर्गत पूर्ण स्वास्थ्य परीक्षण (Full Body Check-up), प्याथोलोजी, निवारक तथा अग्रिम उपचार सेवा, फिजियोथेरापी, अर्थोपेडिक, न्युरोलोजी, कार्डियोलोजी लगायतका सेवा समेटिने छन् ।
ग्राण्डी अस्पतालका प्रमुख कार्यकारी अधिकृत कर्नेल अमृत खन्ना र साइबरनेटिक्सका प्रबन्ध निर्देशक जेम्स न्याछ्योनले सम्झौतामा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा दुवै संस्थाका शीर्ष पदाधिकारीहरूको उपस्थिति थियो ।
समारोहमा बोल्दै कर्नेल खन्नाले भने, ‘विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले अब आफ्नो बाआमा तथा आफन्तलाई विश्वस्तरीय स्वास्थ्य सेवा अनलाइनमार्फत खरिद गरी प्रदान गर्न सक्नेछन् । यो सम्झौता हामी सबैका लागि गर्वको क्षण हो।’
त्यसैगरी, साइबरनेटिक्सका निर्देशक न्याछ्योनले भने, ‘हामी डिजिटल प्रविधिको सहायताले विदेशमा बस्ने सम्पूर्ण नेपालीहरूलाई आफ्नो मातृभूमिमा रहेका आफन्तलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सक्ने प्लेटफर्म प्रदान गर्दैछौं।’




















प्रतिक्रिया