काठमाडौं । अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने भएको छ । सवारी लाइसेन्सको अवधि १० वर्ष हुने गरी प्रतिनिधि सभाले केही नेपाल ऐन संशोधन विधेयक पारित गरेको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा लाइसेन्सको अवधि पाँच वर्ष छ । यसलाई बदलेर केही नेपाल ऐन संशोधन विधेयकमार्फत १० वर्ष बनाइएको हो ।
संशोधित ऐन अनुसार अब चालक अनुमतिपत्र जारी भएको मितिले दश वर्षसम्म वैध रहनेछ । ऐनको दफा ५४ को उपदफा ३ मा उल्लेख ‘पाँच वर्षसम्म’ भन्ने शब्दलाई प्रतिस्थापन गर्दै ‘दश वर्षसम्म’ भन्ने शब्द राखिएको छ । यस अनुसार लाइसेन्सको नविकरण पनि दश वर्षका लागि हुनेछ ।
यो विधेयक अघिल्लो सरकारको पालामा तत्कालीन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले प्रतिनिधि सभामा २६ वैशाख २०८० मा दर्ता गरेका थिए। २९ भदौ २०८० मा विषयगत समितिमा पठाइएको विधेयक १४ वैशाख २०८१ मा प्रतिनिधि सभामा फिर्ता आएको थियो। मंगलबारको बैठकबाट विधेयक पारित भएको हो ।
अब यो विधेयक राष्ट्रिय सभामा पठाइनेछ । त्यहाँबाट पनि पारित भएपछि पुनः प्रतिनिधि सभामा फिर्ता गरी सभामुखमार्फत राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पेश गरिनेछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो विधेयक ऐनको रूपमा कार्यान्वयनमा आउनेछ ।




















प्रतिक्रिया