काठमाडौं । बाजुराको जगन्नाथ गाउँपालिका–२ स्थित काँडाकोटमा सोमबार बिहान एक जिप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
दुर्घटना नेपाल टेलिकमको बा.५ च २२०९ नम्बरको जिप दुर्घटनाग्रस्त हुँदा भएको हो । सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार जिप सडकबाट करिब ८० मिटर तल खसेको थियो ।
मृतकमध्ये नेपाल टेलिकम बाजुरा कार्यालयका प्रमुख लोकबहादुर खड्का रहेका छन् ।
जिपमा सवार टेलिकम प्रमुख खड्का, चालक नन्दराम महता र यात्रु रवीन्द्र धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) टेक जोराले जानकारी दिए । दुर्घटनामा नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि लगिएको जनाइएको छ ।
बाजुरा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार बाजुरा सदरमुकामबाट टेलिकमको टावर मर्मतका लागि जगन्नाथ गाउँपालिकातर्फ गइरहेका बेला काडाकोटमा जिप दुर्घटनामा परेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















प्रतिक्रिया