पोखरा । राइड सेयरिङ र सेल्फ ड्राइभको विरोधमा यातायात ठप्प पारेका यातायात व्यवसायीलाई आन्दोलन फिर्ता गरेर वार्तामा आउन गण्डकी प्रदेश सरकारको वार्ता समितिले आह्वान गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव कमलकुमार अधिकारीको संयोजकत्वमा गठित वार्ता समितिले आइतबार पत्रकार सम्मेलनमार्फत आन्दोलन फिर्ता गरी संवादमा आउन आह्वान गरेको हो ।
सरकारले नियमावली सार्वजनिक यातायात व्यवसायीको विपक्षमा नभई अवैध सेवा व्यवस्थापनका लागि ल्याएको दाबी गर्दै नियम कार्यान्वयन भइसकेको र अब छलफलमार्फत असहमति सुल्झाउन सकिने बताइएको छ।
‘व्यवसायीसँग नियमावली जारी हुनअघि पनि पटक पटक वार्ता भएकै हो । उहाँहरूले हस्ताक्षर पनि गर्नुभएको छ । नियमावलीका केही बुँदामा असहमति होलान्, त्यो विषयमा छलफल गर्न सकिन्छ तर नियमावली कार्यान्वयनमा गइसक्यो, खारेज हुँदैन,’ संयोजक अधिकारीले भने, ‘उहाँलाई आन्दोलनबाट फिर्ता भएर वार्तामा आह्वान गर्दछौं ।’
व्यवसायीले १९ गतेदेखि देशभर यातायात ठप्प पार्ने चेतावनी दिँदै आएका छन् । तर, सरकारले नियमावली केही निश्चित साधनमा मात्र लागू भएको र लामो दूरीका यातायातमा असर नपर्ने भन्दै आन्दोलन फिर्ता गर्न आग्रह गरेको छ ।




















प्रतिक्रिया