Logo

प्रमुख समाचार

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ ।

सोडारीले पदीय मर्दायाविपरीतका कार्य गरी अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । ०७४ सालमा मुख्यमन्त्री हुँदा सोडारीले आफ्नो र परिवारको कूल सम्पत्ति ८५ लाख ५१ हजार ३ सय ३४ रुपैयाँ ९२ पैसा वैधानिक आर्जन देखाएका थिए ।

तर, पदवहालीपछि शक्तिको दुरुपयोग गरि एक करोड आठ लाख ३८ हजार तीन सय ५७ रुपैयाँ ५७ पैसा अकूत आर्जन गरेको अनुसन्धानबाट देखिएको अख्तियारले जनाएको छ ।

सोडारीले सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिबाट श्रीमती गीता सोडारी तथा छोरा बबी सोडारीको नाममा जग्गा खरिद, घर निर्माण गरेको पनि अख्तियारले जनाएको छ ।

यसैकारण सोडारीको श्रीमती र छोरालाई भ्रष्टाचार गरी आर्जन गरेको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ मात्र प्रतिवादी बनाइएको अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार १७:०९   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।