Logo

प्रमुख समाचार

रवीन्द्र मिश्र र धवल शमशेर सम्पर्कविहीन, जिम्मा लिएका वकिललाई ५० हजार जरिवाना



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा सम्पर्कविहीन भएपछि उनीहरूलाई हाजिरी जमानीमा लिएको वकिलहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंले जरिवाना गरेको छ ।

जिल्ला प्रहरीका अनुसार अदालतको आदेशपछि मिश्र र राणालाई वकिलको जिम्मामा छाडिएको थियो। तर, उनीहरू अदालतमा तोकिएको म्यादमा उपस्थित नभएपछि वकिलहरूलाई जनही ५०–५० हजार रुपैयाँ जरिवाना गरिएको हो।

काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको घटनापछि पक्राउ परेका मिश्र र राणा हाजिर जमानीमा छुटेका थिए । हाजिरी जमानीमा छुटेका व्यक्तिहरू प्रहरीले बोलाएको बेला र मुद्दा दर्ता गर्ने बेलामा उपस्थित हुनुपर्छ । तर उनीहरू दुवै जना हाजिर नभएपछि जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतले जिम्मा लिएका वकिललाई जनही ५० हजारका दरले जरिवाना गरेका हुन् ।

मुलुकी फौजदारी कार्यविधि संहिताअनुसार अनुसन्धान अधिकृतले जरिवाना तोक्ने सक्ने व्यवस्था उल्लेख छ । संहिताको दफा १५ मा हिरासतमा रहेका व्यक्तिलाई अनुसन्धान अधिकृतले छाड्न सक्ने व्यवस्था उल्लेख छ ।

यसरी छाडिएका व्यक्तिलाई जसले बुझेको हुन्छ । पछि ती व्यक्तिलाई उपस्थित नराएको अवस्थामा बुझिलिने व्यक्तिलाई जरिवाना गर्न सकिने उल्लेख छ । दफा १५ को उपदफा (४) मा उल्लेख छ, ‘उपदफा (३) बमोजिम तोकेको समयमा त्यस्तो मानिसलाई उपस्थित नगराएमा हाजिर जमानी दिने व्यक्तिलाई अनुसन्धान गर्ने अधिकारीले पचास हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।’

उनीविरुद्धको मुद्दा अहिले काठमाडौं जिल्ला अदालतमा चलिरहँदा उनी पनि सम्पर्कविहीन छन् । तीनकुने घटनामा उनीहरूमाथि राजद्रोह, आपराधिक उपद्रव र संगठित अपराधका अभियोग लगाइएको छ। उक्त घटनामा ४ बालकसहित ६५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो । अहिले काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस जारी छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहीबार १४:००   :  बजे

435
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।