काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकार्य–संवाद कार्यदल गठन गर्ने भएको छ । बुधबार बसेको पार्टी सचिवालय बैठकले विषम राजनीतिक परिस्थितिमा वैकल्पिक राजनीति पक्षधर, अभियन्ता तथा स्वतन्त्र समूहहरूलाई एउटै धागोमा बाँध्न पार्टीले नेतृत्व लिने र त्यसका लागि ‘सहकार्य–संवाद कार्यदल’ गठन गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
यो कार्यदलमा कोको छन् र यसको कार्यादेश के हो भनेर रास्वपाले खुलाएको छैन ।
रास्वपाले आगामी असार ७ गते पार्टीको तेस्रो स्थापना दिवस विशेष कार्यक्रमसहित मनाउने तयारी गरेको छ । ‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवर्द्धन’ भन्ने मूल नारासहित पार्टीले स्थापना दिवस मनाउने निर्णय गरेको झाले जानकारी दिए ।
सोही दिन बिहान ७ बजे पार्टी केन्द्रीय कार्यालय (चःमति, वनस्थली) मा केन्द्रीय समिति बैठक आयोजना गरिनेछ। बिहान ९ बजेबाट स्थापना दिवसको औपचारिक कार्यक्रम सुरु हुनेछ ।
बैठकले पार्टीको पहिलो महाधिवेशनलाई सफल बनाउन सातवटै प्रदेशमा महाधिवेशन केन्द्रित संगठन अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ। यसअघि मंसिरमा गर्ने भनिएको महाधिवेशन फागुनमा सारिएको छ ।
सांसद सुमना श्रेष्ठको निर्देशनमा नक्कली उजुरी दर्ता गराएको भन्ने भ्रामक समाचारप्रति पार्टीले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । रास्वपाले यसलाई पीडितलाई गृहमन्त्रीमार्फत दिइएको धम्कीको योजनाबद्ध प्रयासको भाग मानेको छ ।
यस घटनाको छानबिन गर्न सांसद चन्दा कार्की भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिमा वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे र पूर्व एसएसपी लव बिष्ट सदस्य छन् ।
‘पार्टीले यसलाई संसदको रोष्ट्रमबाट गृहमन्त्रीद्वारा पीडितलाई दिइएको धम्कीको नियोजित श्रृङ्खलाको एक हिस्सा मानेको छ। पार्टीले स्पष्ट गर्दछ कि यस्तो व्यवहारप्रति कुनै प्रकारको प्रोत्साहन दिइएको छैन। तथापि, पार्टीमा आबद्ध कुनै व्यक्ति संलग्न भए/नभएको यकिन गर्न सांसद चन्दा कार्की भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिमा वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे र पूर्व एसएसपी लव बिष्ट सदस्यहरू रहनुभएको छ,’ रास्वपाले भनेको छ।
यस्तै इजरायल–इरानबीचको बढ्दो द्वन्द्वबीच दुवै देशमा रहेका नेपाली नागरिकहरूको सुरक्षित स्वदेश फिर्ती सुनिश्चित गर्न सरकारसँग तुरुन्त पहल गर्न सरकारसँग रास्वपाले माग गरेको छ ।
रास्वपाले स्याङ्जाको आँधीखोलामा भइरहेको दोहन विरुद्ध आवाज उठाउँदा वालिङ नगरपालिका–१० का नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालबाट खुलेआम रड प्रहार गरिएको घटनाको निन्दा गरेको छ।




















प्रतिक्रिया