काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फोहोर चलाएर आफू फोहोरी नबन्ने बताएका छन् ।
बुधबार केन्द्रीय समिति बैठकमा थापाले पूर्वमन्त्री तथा केन्द्रीय सदस्य मोहन बस्नेतले आफूमाथि लगाएको आरोपलाई गम्भीर, अराजनीतिक, अशिष्ट र अमर्यादित आरोपलाई खण्डन गर्दै फोहोरी बन्न नचाहेको बताएका हुन् ।
महामन्त्री थापाले भने, ‘फोहोर चलाएर म फोहोरी बन्न चाहन्नँ ।’ उनले आमाको शिक्षालाई स्मरण गर्दै भने, ‘बाले भन्नुहुन्थ्यो, कसैले आरोप लगाए दिइहाल्नुपर्छ जवाफ । आमाले भन्नुहुन्थ्यो, फोहोर नचलाउनु– फोहोर चलाए आफैं फोहोरी भइन्छ । आज म आमाको कुरा सुन्छु ।’
थापाले सभापति शेरबहादुर देउवालाई प्रत्यक्ष सम्बोधन गर्दै, पार्टीको भित्रको वैचारिक बहस सभ्य ढंगले हुनुपर्ने र धम्कीपूर्ण भाषा प्रयोग हुन नहुनेमा जोड दिए। ‘बैठकभित्रै एक केन्द्रीय सदस्यले हुंकार मिश्रित धम्की दिनुभयो रे। त्यो नैतिक पतन हो,’ उनले भने ।
यसअघि केन्द्रीय समिति बैठकमा मोहन बस्नेतले गगन थापालाई लक्षित गर्दै, ‘धेरै महत्त्वकांक्षा बोकेर दौडिनेहरू होस् गर्नुस्, ठाउँको ठाउँ पर्ला, कुठाउँ पर्ला,’ भन्ने अभिव्यक्ति दिएका थिए। उनले टेरामक्स प्रकरणमा आफूविरुद्ध मुद्दा दर्ता गराउन थापाको भूमिका रहेको आरोप लगाएका थिए ।
थापाले भने आफू तरूण दलको अनशनरत साथीहरूको माग सम्बोधन गर्न वार्तामा भएको कारण बैठकमा उपस्थित हुन नसकेको जानकारी गराउँदै आरोपको जवाफ दिएका हुन् ।




















प्रतिक्रिया