Logo

खेलकुद

एनपीएल विवाद: अख्तियारको छानबिन नसकिएसम्म कुनै काम नगर्न क्यानलाई निर्देशन



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान)लाई एनपीएलको विषयमा चाँडै स्पष्ट जवाफ पेश गर्न माग गरेको छ ।

छानबिन समितिको आइतबार क्यानलाई पत्र लेख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन कार्य सम्पन्न नहुँदासम्म एनपीएलको दोस्रो संस्करणसँग जोडिने कुनै पनि काम नगर्न निर्देशन दिएको छ ।

राखेपको बोर्ड सदस्यसमेत रहेकी कार्यदल संयोजक रञ्जना प्रधानले नेतृत्व गरेको समितिले आइतबार क्यानलाई पठाएको पत्रमा भनिएको छ, ‘अख्तियारमा परेको उजुरीका विषयमा स्पष्ट जवाफ पेश गर्नुका साथै, आयोगको छानबिन कार्य नसकिएसम्म एनपीएलको दोस्रो संस्करणसँग सम्बन्धित कुनै पनि काम नगर्नू नगराउनू।’

२०८१ मंसिर १५ देखि पुष ६ गतेसम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा सम्पन्न भएको पहिलो संस्करणलाई खेलाडी प्रदर्शन र जनसहभागिताको हिसाबले सफल मानिए पनि, आर्थिक पारदर्शिता र आयोजनाको प्रक्रियासम्बन्धी प्रश्नहरू उठेका थिए।

यसै सन्दर्भमा अख्तियारमा उजुरी परेपछि, युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा राखेपले छानबिन कार्यदल गठन गरेको थियो। कार्यदलले २०८२ जेठ २६ मै क्यानलाई पत्र पठाएर आवश्यक कागजात माग गरेको थियो, तर अधुरो र अस्पष्ट जवाफ आएको भन्दै असार २२ गते पुनः कडा शब्दमा अर्को पत्र काटिएको हो।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले पत्र प्राप्त भएको पुष्टि गर्दै जवाफ तयार पार्न क्यान सचिव तथा एनपीएल गभर्निङ काउन्सिलका संयोजक पारस खड्कालाई जिम्मा दिइसकेको बताएका छन् । यद्यपि चन्दले कार्यदलले संस्थाको सट्टा अध्यक्षलाई सिधै पत्र लेखेकोमा असन्तुष्टि व्यक्त गर्दै भने, ‘संस्थालाई लेख्नुपर्छ, व्यक्तिलाई नामै तोकेर लेख्नु उपयुक्त होइन।’

 

प्रकाशित मिति : २४ असार २०८२, मंगलवार १५:०९   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।