Logo

खेलकुद

भुटानमाथि नेपालको आधा दर्जन गोल, पूर्णिमा राईको ह्याट्रिकमा नेपालको शानदार जित



काठमाडौं । पूर्णिमा राईको ह्याट्रिकमा नेपालले भुटानलाई पराजित गर्दै साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको आफ्नो उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ।

बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा आज भएको खेलमा नेपालले भुटानमाथि ६-१ गोलको जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो।

नेपालको जितमा पूर्णिमाले चार गोल गरिन् भने सेनु परियारले दुई गोल गरिन्। यो जितसँगै नेपालले तीन अंक बटुलेको छ। यता भुटानका लागि केल्देन वाङ्गमोले सान्त्वना गोल फर्काइन्।

खेलको नवौँ मिनेटमा सेनुले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन हुन्। खेलको १८औँ मिनेटमा पूर्णिमाले नेपालको अग्रता दोब्बर बनाइन्।

त्यसपछि खेलको ४५औँ मिनेटमा सेनुले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरिन्।

त्योसँगै नेपालले खेलको पहिलो हाफमा ३-० को अग्रता लिएको थियो। त्यसैगरी खेलको ५४औँ मिनेटमा भुटानले एक गोल फर्कायो। भुटानका लागि केल्देनले गोल गरिन्।

खेलको ६३औँ मिनेटमा पूर्णिमाले गोल गर्दै नेपालको अग्रता ४-० मा पुर्‍याइन् । खेलको ८४औँ मिनेटमा पूर्णिमाले ह्याट्रिक पूरा गरिन्।

त्यसपछि खेलको ८८औँ मिनेटमा पूर्णिमाले आफ्नो चौथो गोल गर्दै नेपाललाई ६-१ को अवस्थामा ल्याइन्। त्यसपछि खेलमा गोल हुन सकेन र नेपालले भुटानमाथी ६–१ को जित निकाल्यो।

सोही प्रतियोगिताअन्तर्गत आजै भएको उद्घाटन खेलमा घरेलु टोली बंगलादेशले श्रीलंकालाई ९-० को फराकिलो अन्तरले हराउँदै विजयी भएको थियो।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार २२:१०   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।