काठमाडौं । नेपालको बैंकिङ क्षेत्र परम्परागत प्रणालीबाट आधुनिक डिजिटल बैंकिङ प्रणालीमा तीव्र रुपमा संक्रमण भइरहेको छ । नेपाल क्लियरिङ हाउस (एनसीएचएल)द्वारा सञ्चालित ‘कर्पोरेट पे’ प्रणाली अत्यन्तै लोकप्रिय बन्न थालेको छ । हालसम्म उक्त प्रणालीमार्फत ११ खर्ब रुपैयाँभन्दा बढीको कारोबार फर्स्योट भइसकेको छ ।
व्यावसायिक भुक्तानी प्रणालीको पर्यायका रूपमा स्थापित ‘कर्पोरेट पे’ले बैंक तथा वित्तीय संस्थाहरूबीचको बीटुबी (बिजनेस-टु-बिजनेस) कारोबारलाई सुरक्षित, सहज र प्रभावकारी बनाउँदै आएको छ । नेपाल राष्ट्र बैंकको नीतिगत स्पष्टता र वित्तीय संस्थाहरूको सक्रियताले डिजिटल कारोबारतर्फको प्रवृत्ति झनै तीव्र बनाएको देखिन्छ ।
गत आर्थिक वर्षमा ८ खर्ब रुपैयाँ बराबरको कारोबार भएको ‘कर्पोरेट पे’ प्रणालीमार्फत चालु आर्थिक वर्ष २०८१/८२ को असार महिनाको मध्यसम्म ११ खर्ब रुपैयाँभन्दा बढीको कारोबार सम्पन्न भइसकेको एनसीएचएलले जनाएको छ ।
यस प्रणालीले मल्टिबैंकिङ सुविधामार्फत ग्राहकलाई आफ्ना विभिन्न बैंक खाताबाट सिधै कारोबार गर्न सक्ने सुविधा प्रदान गर्छ ।
हालसम्म देशका ५३ वटा बैंक तथा वित्तीय संस्थाका हजारौं व्यावसायिक ग्राहकले यस प्रणालीको प्रयोग गरिरहेका छन् । यसले नेपालको व्यावसायिक भुक्तानी क्षेत्रमा डिजिटल प्रविधिको लोकप्रियता र विश्वसनीयता प्रस्ट पार्दछ ।
‘कर्पोरेट पे’ले देशलाई डिजिटल सबलीकरणतर्फ लैजान तथा नगदरहित अर्थतन्त्रको परिकल्पना साकार पार्न महत्वपूर्ण भूमिका खेलिरहेको छ ।




















प्रतिक्रिया