Logo

प्रमुख समाचार

बैतडीमा ३८ खानेपानीका मुहानमा ‘कोलिफर्म’ भेटियो



बैतडी । बैतडीमा ३८ खानेपानीका मुहानमा ‘कोलिफर्म’ भेटिएको छ । स्वास्थ्य कार्यालयले जिल्लाका नौ वटा स्थानीय तहका मुहानबाट जाँचका लागि नमूना पानी सङ्कलन गरी परीक्षण गर्दा कोलिफर्म भेटिएको जनाएको छ ।

शिवनाथ गाउँपालिकाबाहेकका स्थानीय तहका १६४ वटा मुहानबाट नमूना सङ्कलन गरिएको स्वास्थ्य कार्यालयका ल्याब असिस्टेन्ट धर्मानन्द बडूले बताए ।

स्वास्थ्य कार्यालयले जेठ र असारमा नियमित रुपमा प्रयोग भइरहने मुहानबाट नमूना सङ्कलन गरेर प्रयोगशालामा परीक्षण गरेको थियो ।

सबैभन्दा धेरै पुर्चौडी नगरपालिकाका खानेपानीका मुहान दूषित रहेको पाइएको छ । ३२ वटा नमूना सङ्कलन गरी परीक्षण गर्दा १५ मा कोलिफर्म भेटिएको हो ।

पाटनमा १३ मध्ये नौ, सिगासबाट १५ वटा नमूना सङ्कलन गरी परीक्षण गर्दा सात मुहानमा कोलिफर्म भेटिएको हो ।

त्यसैगरी दशरथचन्दमा चार मध्ये एक, दोगडाकेदारमा २१ मध्ये एक, डिलाशैैनीमा छ मध्ये एक, पञ्चेश्वरमा १६ मध्ये एक, मेलौलीमा ३७ मध्ये दुई र सुर्नयमा २० मध्ये एकमा कोलिफर्म भेटिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

नियमित रुपमा प्रयोग गर्दै आएका खानेपानीका मुहान, धारा र ट्याङ्कीबाट नमूना सङ्कलन गरी परीक्षण गर्दा उक्त परिणाम प्राप्त भएको हो ।

खानेपानीका मुहानको सरसफाइ तथा उचित किसिमको ढल निकास नहुँदा ढलको पानी मुहानमा मिसिन गई दूषित हुने गरेको छ ।

उपभोक्तालाई स्वच्छ पानी पुर्याउन स्थानीय तहहरुलाई पनि खानेपानी सुरक्षा योजना लागू गर्न र मुहान तथा धाराहरु सफा गर्न सुझाव पठाइएको बडालले बताए ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार २१:२४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।