Logo

प्रमुख समाचार

दार्चुलामा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण



खलङ्गा । राष्ट्रिय भूमि आयोग दार्चुलाले विगतका समिति र कार्यदलबाट बाँकी रहेका शैल्यशिखर नगरपालिका–६ का अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको छ ।

आज यहाँ आयोजित एक कार्यक्रममा ४५ जनालाई पुर्जा वितरण गरिएको आयोगका जिल्ला अध्यक्ष लालसिंह धामीले जानकारी दिए ।

शैल्यशिखर नगरपालिका–६ का ४५ जनालाई २९४ रोपनी जग्गाको पुर्जा वितरण गरिएको उनले बताए ।

नापी कार्यालय प्रमुख टीकेन्द्रसिंह धामीले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलनसम्बन्धी कार्यविधि, २०७८ अनुसार जग्गाको नापजाँच, फिल्ड मुचुल्का, राजस्व सङ्कलनलगायत प्रक्रिया पूरा गरेर पुर्जा वितरण गरिएको बताए ।

जग्गाबापत रु सात लाख ३८ हजार ५४ राजस्व सङ्कलन गरिएको उनले जानकारी दिए । मालपोत कार्यालय प्रमुख लक्ष्मीदत्त विष्टले यसरी प्राप्त जग्गा १० वर्षसम्म बिक्री गर्न नपाउने बताउनुभयो ।

यस वडामा ३१५ अव्यवस्थित बसोबासी रहेको भनिए पनि ८२ जनाको मात्र निवेदन सङ्कलन गरिएको थियो । जसमध्ये ४५ जना अव्यवस्थित बसोबासीले मात्र राजस्व बुझाएको विष्टले बताए ।

कार्यक्रममा शैल्यशिखर नगर उपप्रमुख शान्ति खडायतले नगरक्षेत्रभित्र बाँकी रहेका अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्बासीलाई आयोगसँगको समन्वयमा छिट्टै जग्गाधनी पुर्जा वितरण गरिने बताए ।

जग्गाधनी प्रमाण पुर्जा वितरण गर्दै जिल्ला समन्वय समिति प्रमुख महादेव बडूले विगतमा पनि जग्गाविहीनलाई सेतो पुर्जामार्फत जग्गाको स्वामित्व प्रदान गरिएको बताए ।

आयोगले यसअघि जिल्लाको दुहु गाउँपालिकामा १८ जना अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरिसकेको छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार २२:४०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।