Logo

प्रमुख समाचार

भोटेकोशीमा फेरि भीषण बाढी, प्रहरी टोली परिचालन



काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा फेरि भीषण बाढी आएको छ । बुधबार बिहान सवा २ बजे भोटेकोशीको सतह एक्कासि बढेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

उनका अनुसार केरूङ खोलामा भेलबाढी आएको हो कि, दायाँतर्फको ल्हेन्दे खोलामा भेलबाढी आएको हो भन्ने यकिन भएको छैन । उक्त भेलबाढीले टिमुरेदेखि रसुवागढीसम्मको बाटो विच्छेदित बनाएको छ ।

उनले भने, ‘भेलबाढीले मानवीय क्षति भएको छैन । बाढी आउनेबित्तिकै प्रहरी टोली परिचालन गरेर स्थानीयलाई सुरक्षित स्थानमा राख्यौं ।’ बिहानसम्म नदीको सतह नघटेको उनले बताए ।

बाढी आएपछि स्थानीयहरू घरबाहिरै बसेका छन् । बाढीले त्रिशूली जलविद्युत आयोजनामा पनि क्षति पु¥याएको उनले बताए । तर, क्षतिको विवरण आइसकेको छैन ।

गत असार २४ गते ल्हेन्दो खोला भेलबाढी आउँदा २० जना बेपत्ता भएका थिए। त्यसमध्ये केहीको शव फेला परेको थियो । त्यतिबेला ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा हिमनदीको माथिल्लो सतहमा रहेको सुप्राग्ल्यासियर ताल विस्फोट हुँदा भेलबाढी आएको प्रारम्भिक निष्कर्ष निकालिएको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार ०७:३५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।