Logo

प्रमुख समाचार

आज बागमती प्रदेशका तीन नवनियुक्त मन्त्रीको शपथ ग्रहण गर्दै



मकवानपुर । बागमती प्रदेशका नवनियुक्त ३ मन्त्रीहरूको शपथ ग्रहण आज हुँदै छ । दिउँसो १ बजेका लागि कांग्रेसका नवनियुक्त ३ मन्त्रीको शपथ ग्रहण कार्यक्रम हुने भएको हो ।

बुधबार सत्ता साझेदार दल एमालेको अब्जेक्सन पछि कांग्रेसका नवनियुक्त ३ मन्त्रीको शपथ ग्रहण रोकिएको थियो । उक्त रोकिएको शपथ कार्यक्रम आज १ बजे गर्ने गरी मुख्यमन्त्री बहादुर सिंह लामाले तयारी अघि बढाएका छन् भने प्रदेश प्रमुख कार्यालयले सार्वजनिक सूचना आह्वान गरेका छन् ।

कांग्रेसको आन्तरिक विवाद उच्च भइरहेको र संसदीय दलको नेताका लागि मतदान प्रक्रिया जारी रहेकाले एमालेले तत्काल मन्त्री नियुक्ति तथा शपथको कार्यक्रम अघि नबढाउन सुझाव दिएको थियो । मुख्यमन्त्री लामाले मन्त्रीहरूको शपथ सञ्चालन गर्न दबाब बढाए पनि एमालेले विवाद थप बढ्ने भन्दै सो कार्यमा सहमति नजनाउँदा कार्यक्रम रोकिएको थियो ।

मन्त्रीको नियुक्तिको पत्रसहित प्रदेश प्रमुख कार्यालय पुगेका मुख्यमन्त्री लामालाई तत्काल उक्त काम नगर्न एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले रोकेका थिए । सोही अनुसार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संसदीय दलको नेता चयनको प्रक्रिया प्रभावित हुने भन्दै शपथ ग्रहण कार्यक्रम सार्न प्रस्ताव गरेका थिए ।

मुख्यमन्त्री लामाले रिक्त ५ मन्त्रालय मध्ये ३ वटामा मन्त्री नियुक्त गरेर बुधबार बिहान ९ बजे सपथका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए । उनले चितवनकी माया श्रेष्ठ, गीता गुरुङ र धादिङका गोविन्द लम्साललाई पनि मन्त्री बनाएका थिए । मुख्यमन्त्री लामाले मन्त्री नियुक्त गरेका लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने निर्णय सहित प्रदेश प्रमुखसमक्ष पत्राचार गरेका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार ०८:०५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।